काठमाडौँ । श्रीलंकामा जारी एसीसी यु – १९ एसिया कप क्रिकेटमा नेपाल आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकासँग पराजित भएको छ । कोलम्बोमा भएको खेलमा नेपाल टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकाको युथ टिमसँग १ रनले पराजित भएको हो ।
कोलम्बोस्थित नोन्डेस्क्रिप्ट क्रिकेट क्लबको मैदानमा श्रीलंकाले दिएको २ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले अन्तिम ३ बल बाँकी रहँदा २ सय २६ रन बनाएर अलआउट भयो ।
श्रीलंकाबिरुद्ध खराब सुरुआत गरेपनि नेपालले जुझारु प्रदर्शन गर्यो । तर, अन्तिम समयमा चुक्दा नेपाल १ रनले पराजित हुनु पुग्यो । नेपाललाई अन्तिम ४ बलमा २ रन आवश्यक थियो । क्रिजमा थिए, दिपेन्द्र सिंह ऐरी । तर, नेपालको लागि अर्ध अर्धसतकीय पारी खेलेका ऐरी प्रभिन जयविक्रमाको बलमा आउट भएपछि नेपाल एतिहासिक जितबाट बन्चित भयो ।
अन्तिम समयमा नेपाल जितबाट बञ्चित नभएको भए नेपालले टेस्ट राष्ट्र श्रीलंकालाई यु – १९ क्रिकेटमा पहिलोपटक पराजित गर्ने थियो । सन् २०१२ मा मलेसियाबाट सुरू भएको यु – १९ एसिया कपको तेस्रो सस्करणमा आइपुग्दा नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रलाई हराउने थियो । यो हारसँगै अब नेपाललाई सेमिफाइनलमा स्थान बनाउन अन्य खेलमा जित्नु पर्ने दबाब बढेको छ ।
घरेलु टोलिबिरुद्ध नेपालले सुरुआती ३ ओभरमा ३ विकेट गुमाएको थियो । तर, नेपालको पारी उकास्न दिपेन्द्रसिंह ऐरी र अविनास कर्णले उत्कृष्ट प्रदर्शन गरेका थिए । ऐरीले अर्धसतकीय पारी खेल्दै ९० रन बनाए भने कर्णले ४० रनको योगदान दिए ।
ऐरीले ९९ बलमा ९ चौका र १ छक्का प्रहार गर्दा कर्णले ४० बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे । तर, नेपाललाई जित दिलाउन त्यो पर्याप्त भएन । खेलमा दिपेन्द्रसिंह ऐरी म्यान अफ दि म्याच चुनिए ।
यस्तै नेपालका अदिल खानले ३९ तथा प्रकाश केसीले १४ रन जोडे । नेपालका कप्तान सन्दिप लामिछाने १ रन, सन्दिप सुनार २ रन,आसिफ शेख १ रन तथा भिम सार्की ८ रनमा आउट भए । श्रीलंकाका कमिन्डु मेन्डीसले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली श्रीलंकाले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो । नेपालबिरुद्ध पहिलो बलमा पहिलो विकेट गुमाएपनि हसिथा बयोगोडाले श्रीलंकाको पारी उकासेका थिए ।
घरेलु टोलिविरुद्ध नेपालले उत्कृष्ट सुरुआत गर्दै पहिलो ओभरको पहिलो बलमै श्रीलंकाली ओपनर ब्याट्म्यान विश्वा चाथुरांगालाई आउट गरेको थियो । उनलाई नेपाली ओपनिङ बलर कमलसिंह ऐरीले एलबिडब्ल्युको शिकार बनाएका थिए । तर, हसिथा बयोगोडाले रन आउट हुनुअघि ८३ रन बनाएपछि श्रीलंकाको पारी उकासिएको थियो । १ सय ६ बल खेलेका उनले १२ चौका प्रहार गरे ।
श्रीलंकाका अशेन बन्डरा २७ रनमा अविजित रहे । त्यस्तै कृसान सान्जुलाले २८, रेभिन केलीले १९, लासिथ क्रूस्पुल्ले १३ तथा कमिन्डु मेन्डिसले ११ रन बनाए । नेपालका कमल सिंह ऐरीले ३ विकेट लिए भने पवन सराफले २ तथा दिपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
एसिया कपको तेस्रो संस्करणमा सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको नेपाली टोलिले भोली साबिकको बिजेता भारतसंग खेल्ने छन् । त्यसपछि नेपालले आफ्नो अन्तिम खेलमा आइतबार मलेसियासँग खेल्नेछ । दुई समूहमा विभाजित प्रतियोगितामा प्रत्येक समूहको शीर्ष दुई टोलि नकआउट चरणमा प्रवेश पाउनेछन् र सेमिफाइनल खेल्नेछन् ।








