चिकित्सक केसी पुनः अनसन बस्ने

काठमाडौँ । चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम०का डिनमा प्रा डा केशवप्रसाद सिंह नियुक्त भएका छन् ।

त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि आज उनलाई डिन नियुक्त गरेको हो । डिन सर्च कमिटीले प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा केपी सिंह र प्रा डा ज्योति शर्माको नाम डिनका लागि सिफारिस गरेको थियो ।

त्रिविका उपकुलपति डा तीर्थ खनियाँले डा सिंहलाई आज नै पत्र बुझ्ने गरी डिन नियुक्त गरिएको जानकारी दिए । विसं २०४५ मङ्सिर ८ गते आइओएममा नियुक्त भएका उनले चार वर्षअघि त्रिवि शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

चिकित्सा शिक्षा सुधार र विकृतिविरुद्ध नौ पटकसम्म अनशन बसिसकेका प्रा डा केसीले भने आइओएमको डिन नियुक्ति वरिष्ठताका आधार नभएकाले यसलाई नसच्याए आज अपराह्न ३ बजेदेखि अनशन सुरु गरिने चेतावनी दिएका छन्। डा केसीले गत बुधबार र शनिबार विज्ञप्ति जारी गर्दै आइओएमको डिन नियुक्ति वरिष्ठता आधारमा गर्न २४ घन्टाको समयावधि दिएका थिए । त्रिवि उपकुलकति कार्यालयले शनिबार साँझ बैठक बसी अवकाश पाउन चार महिना बाँकी समय रहेका प्रा डा सिंहलाई डिन नियुक्त गर्ने निर्णय गरेको हो ।

रासससँग कुरा गर्दै डा केसीले वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने आफ्नो माग यथावत् रहेकाले सो नसच्याए आफूले फेरि अनशन बस्ने चेतावनी दिए। उनले भने “मैले कसैलाई व्यक्तिगत फाइदाका लागि नभई सिङ्गो चिकित्सा शिक्षाका लागि सिस्टममा चल्नुपर्ने मान्यताअनुसार नै वरिष्ठताका आधारमा डिन नियुक्ति हुनुपर्ने माग अघि सार्दै आएको छु । डा सिंहको नियुक्ति वरिष्ठताका आधारमा नभएकाले मेरो असहमति छ ।”
उपकुलपति खनियाँले भने बाहिर जसले जे भने पनि वरिष्ठताका आधारमा नै डिन नियुक्त गरिएको र सिफारिस भएकामध्ये डा सिंह नै वरिष्ठ भएको जिकिर गरेका छन् ।

सम्बन्धित शिर्षकहरु