काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ विद्यावारिधि ग्रहण गरेका छन्। भारतको उत्तराखण्ड राज्यस्थित उद्यमसिंह नगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई विशेष दीक्षान्त समारोह आयोजना गरी अनररी डिग्री अफ डाक्टर अफ साइन्स उपाधिबाट विभूषित गरेको हो।
ओलीको यो दोस्रो मानार्थ पीएचडी हो। यसअघि ८ वर्षअघि ओलीलाई काठमाडौंमै ग्रिनफ्रोर्ड युनिभर्सिटीले मानार्थ पीएचडीको उपाधि दिएको थियो। ओलीसँगै नेता विजयकुमार गच्छदार, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, कान्तिपुर पब्लिकेशन्सका तत्कालीन निर्देशक रामेश्वर थापा लगायतलाई सो युनिभर्सिटीले मानार्थ पीएचडी दिएको थियो।
आजै दिल्लीबाट प्रधानमन्त्री ओली सो विद्यालय पुगेका थिए। उनले विश्वविद्यालय परिसरमा रुद्राक्षको बिरुवा रोपेका थिए। प्रधानमन्त्री ओली आजै दिल्ली फर्किने र त्यहाँबाट नेपाल आउने कार्यक्रम छ।








