किसुनजी धरधरी रोएको दिन ! गिरिजा र राजदरबारले यसरी प्रधानमन्त्रीबाट हट्न बाध्य पारे !

२०५६ सालको आम निर्वाचन घोषणा अघि एक दिन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कांग्रेस नेता चक्र वास्तोलालाई भने- ‘यार चक्रजी जसरी पनि चुनाव जित्नु पर्छ । के गर्ने हो ।’ वास्तोलाले केही दिनपछि उपाय सुझाए ‘गिरिजावावु, तपाईले भावी प्रधानमन्त्रीमा कृष्णप्रसाद भट्टराईको नाम प्रस्ताव गर्नु भयो जिताउन सकिन्छ ।’

सुविधाजनक वहुमत भएको संसद भंग गरेर कोइराला आफैले गरेको मध्यावधि निर्वाचनका कांग्रेस पार्टी दोस्रो स्थानमा झरेको थियो । राजनीतिक अस्थीरताका कारण छ-छ महिनामा सरकार गठन र विघटनाका खेल भएका थिए । मन्त्री बन्न सांसदहरु खसी वाख्रा जस्तै विक्रि भएको र सरकार जोगाउन र वनाउन सांसदहरुलाई होटलमा थुन्ने जस्ता असंसदीय अभ्यासले प्रजातन्त्र वदनाम भैरहेको अवस्था थियो ।

पार्टी सभापति समेत रहेका कोइरालाले कांग्रेसलाई पुरानै अवस्था अर्थात वहुमतमा पुर्‍याउने वाचा गरेका थिए । आफूले गर्छु भनेर लागेको काम जस्तो सुकै मूल्य चुकाएर पुरा गर्ने पर्ने स्वभावका कोइरालाले भने ‘कसरी ?’

चक्रले भने, ‘हेर्नुस् गिरिजावावु मतदातासंग कांग्रेसको बिकल्प छैन । बिभाजित मानसिकता लिएर चुनावमा जादा जित्न सम्भव हुदैन । फेरी तपाईहरूले फुटेको र जुटेको नाटक खुव गरिसक्नु भएको छ । दुवै जना एउटै मञ्चमा पुग्दा हाँसेको नाटक गर्नुहुन्छ । फेरी झगडा गरिहाल्नु हुन्छ । त्यसले साच्चै किसुनजी र तपाई एक भएको सन्देश दिन जरूरी छ । किसुनजीलाई भावी प्रधानमन्त्रीको अघि सार्नुको विकल्प छैन ।’

कोइरालाको ग्रिन सिग्नल पाए पछि भोली पल्टै आफू डा. रामशरण महतका साथ भट्टराईलाई भेट्न उनको खुमलटार निवास पुगेको प्रसंग त्यसको आठ वर्ष पछि २०६३ साल पुषमा पंक्तिकारलार्इ विस्तारमा सुनाएका थिए । बास्तोलाले सुनाएअुनसार लामो प्रयासपछि एक अर्काको नामै सुन्न नचाहने नेताहरु कुरा गर्न राजी भए । उनले सुनाए- ‘किशुनजी गिरिजावावुले तपाईलाई केही भन्नु भएको छ ?भनेर मैले सोधें’ किसुनजीले भन्नुभयो- कुरा त भयो तर विश्वास गर्ने आधार के ? मलाई एक्लैमा भनेर मात्र के हुन्छ र ?’

यस्तैमा एक दिन कांग्रेसका महामन्त्रीद्वय तारानाथ रानाभाट र वासु रिसालले भट्टराईलाई पार्टी कार्यालयको एउटा कोठामा लगेर भने, ‘किसुनजी तपाईहरुको झगडाले हाम्रो राजनीतिक भविश्यत सकियो नै पार्टी पनि समाप्त हुने भयो र अन्तत प्रजातन्त्र समेत संकटमा पर्ने भयो ।’ भट्टराईले भने ‘बारम्बारको धोकावाट आजित भैसकें । अब म गिरिजाबाबु माथि विश्वास गर्न सक्दिनँ ।’

यो सुनेर रानाभाट डाँको छोडेर रुन थाले । बन्द कोठामा पार्टीका महामन्त्रीले रुँदै भने- ‘तपाईहरुले के गरेको ? हामी तपाईहरुलाई हरेर राजनीति गर्ने । तपाईहरु झगडाबाहेक केही नगर्ने, सबैलाई डुबाउने ?’ त्यसपछि भट्टराईले भने, ‘ल त तपाईहरु भन्नु हुन्छ भने म अन्तिम एकपटकका लागि गिरिजाबाबुसँग कुरा गर्न तयार छु । तर कुरा गर्नु अघि उहाँले विश्वासको वातावरण वनाउनु पर्छ ।’

बास्तोला र ताराभाटले भट्टराईको कुरा कोइरालासमक्ष पुर्‍याए, ‘तपाईले एक्लैमा भनेको कुरामा किशुनजीलाई बिश्वास भएन । उहाँलाई विश्वास दिलाउन तपाईले सार्वजनिक कार्यक्रममै भावी प्रधानमन्त्री घोषणा गर्नु पर्‍यो ।’ लगत्तै जनकपुरको एउटा आमसभामा कोइरालाले भने ‘अब हुने निर्वाचनमा हामी एकजुट भएर मत माग्न आउनेछौं र कांग्रेसको अबको प्रधानमन्त्री उम्मेद्ववार किसुनजी हुनुहुने छ ।’

यतिले भट्टराई मानेनन् । उनले कडा अघि सारे- ‘साँच्चै मलाई प्रधानमन्त्री बनाउने कोइरालाको सोचाई हो भने उहाँले चुनाव लड्नु हुँदैन । के तपाईहरु सहमत गराउन सक्नुहुन्छ ?’ यो कुरा संभव थिएन । कोइराला पार्टीका सभापति थिए । सभापतिलाई नै चुनाव नलड भन्ने आँट कसैको थिएन । र, यसरी बहुमत आउने ग्यारेन्टी पनि हुन्थेन । ‘त्यसो भए पार्टीका सिनियर र जिम्मेवार साथीहरुका बीच उहाँले बाचा गर्नुपर्छ,’ भट्टराईले नयाँ शर्त राखे ।

बास्तोलाले एक दिन भट्टराईसँग भने ‘गिरिजावावुले एक्लै भेट्न चाहनु भयो भने तपाई तयार हुनुहुन्छ । म भेटघाटको कार्यक्रम मिलाउछु ।’ उनले कोइरालालाई पनि यस्तै प्रस्ताव रखे । दुवै नेता यसरी कुरा गर्न तयार भए । त्यसपछि बास्तोलाले गोदावरी भिलेज रिसोर्टका संचालक आफ्ना पुराना मित्र श्रीधर जोशीलाई रिसोर्टमा गोप्य रुपमा दुई नेताको भेट गराउने प्रस्ताव राखे । आचार्य यसमा सहमत भइहाले ।

पुस ३ गते बिहान भट्टराई र कोइराला निवासका टेलिफोनका तार काटिए । अब दुवै नेता सम्पर्क विच्छेद भए । चक्र बास्तोला गिरिजाप्रसाद कोइरालालाई लिएर गोदावरी भिलेज रिसोर्ट पुगे । भट्टराईलाई पहिले नै त्यहाँ पुर्‍याइसकिएको थियो । यो गोप्य भेटका साक्षीका रुपमा तत्कालीन सभामुख एवं कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय तारानाथ रानाभाट र वासु रिसाल, महेश आचार्य र चक्र बास्तोलालगायतका उपस्थित भए ।

कोइराला र भट्टराई एक तला माथिको एउटा कोठामा बसे । बाँकि नेताहरु स्विमिङ पुल र बगैंचामा घुम्न थाले । कोठामा बसेको आधा घन्टामै दुई नेता प्रसन्न मुद्रामा बाहिर निस्किए र भने, ‘हाम्रो कुरा मिल्यो ।’ दुई नेताका बीच के सहमति भयो कसैले भनेनन्, न त अरुले सोधे । बरु दुई नेताका बीच सहमति भएको वक्तत्व नेताहरुले जारी गरे । पछि कांग्रेसमा यो सहमति ‘गोदावरी सम्झौता’का नामले चिनियो । तर, यसमा खास सम्झौता के भएको थियो कहिल्यै खुलेन । धेरैपछि बास्तोलाले मसँग भने, ‘कुरा के भयो कसैलाई पनि थाहा भएन, दुवैजनाले एक-एक बोतल वियर खाएको चाहिँ सत्य हो ।’ २०६१ सालमा कांग्रेस नेता अर्जुननरसिंहले मलाई भने, ‘भट्टराईलाई प्रधामन्त्री बनाउने सम्झौता त्यही बैठकमा भएको थियो ।’

चुनाव घोषणा

२०५१ सालको मध्यावधि निर्वाचनपछि बनेको त्रिशंकु संसद्का कारण अनेकौं काण्डहरु भए । यसले संसदीय व्यवस्था र प्रजातन्त्रलाई नै बद्नाम गराउन थाल्यो । यही मौकामा दरवार २०४६ सालको जनआन्दोलनबाट गुमेको आफ्नो अधिकार पुनस्थापित गर्ने दाउमा थियो । जति विकृति थियो त्यो भन्दा वढी प्रचार गरेर संसदीय व्यवस्थालाई वदनाम बनाउने उसको रणनीति थियो ।

कोइराला एमालेबाट फुटेको वामदेव गौतम नेतृत्वको नेकपा मालेको साथ लिएर प्रधानमन्त्री बनेका थिए । माले तत्काल चुनावमा नजाने अडानमा थियो । कोइराला चाँडोभन्दा चाँडो चुनावमा जान चाहन्थे । चुनाव गराउने मुद्धामा उनले सत्ता बाहिर रहेको पार्टी एमालेसँग वार्ता गरेर रातारात उसलाई सरकारमा ल्याए । एमालेसँग मिलेर सरकार बनाएलगत्तै प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पार्टी संसदीय दलको बैठकमा भट्टराईलाई देखाउदै कोइरालाले भने, ‘हाम्रो तर्फबाट भावी प्रधानमन्त्री किशुनजी हुनुहुने छ ।’ यसपछि चुनावी माहौल बन्न थाल्यो । उपप्रधानमन्त्री रामचन्द्र पौडेलले पुष १३ गते दाङमा पार्टी आमसभालाई संवोधन गर्दै भने, ‘भट्टराईलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तत गरेर प्रधानमन्त्री कोइरालाले त्यागको नमुना देखाउनु भएको छ ।’

बस्, नेताहरुले एक अर्कोको प्रशंसामा भाषणको अधिकांश समय खर्चिन थाले पुष १८ गते कान्तिपुरसंगको अन्तवार्तामा भट्टराइले भनिदिए ‘म एक पटक निर्वाचित प्रधानमन्त्री हुन चाहन्छु । निर्वाचन पूर्व नै प्रधानमन्त्री कोइरालाले मलाई भावि प्रधानमन्त्री मनोनीत गर्नु भएको छ ।’ कोइरालालाई रिझाउन उनले भनिदिए ‘गिरिजावावु दक्षिण एशिया कै महान नेता हुनुहुन्छ ।’

चुनाव हुन नदिने दरवारको योजना थियो

प्रतिस्पर्धा गरे जति सबै संसदीय निर्वाचनमा पराजित (२०१५, २०४८ र २०५० को उपचुनावमा समेत) भट्टराईले पर्साको १ नं क्षेत्रबाट उम्मेद्वारी दिएका थिए । कांग्रेसको पक्षमा वहुमत पुर्‍याउन उमेरले ७५ नाघेका कोइरालाले एकै दिनमा १३ वटा आमसभालाई संवोधन गर्न भ्याए । विहान हेलिकप्टर चढ्दा सहयोगीहरु कोइरालाका लागि दुई वटा उसिनेको अण्डा र केही प्याकेट जीवन जल तयारी अवस्थामा राख्थे ।

एकातिर सरकार जसरी पनि चुनाव गराउने तयारीमा थियो भने अर्कोतिर दरबार भने माओवादी समस्या देखाएर चुनाव नहोस् भन्ने चाहन्थ्यो । माओवादी पनि निर्वाचनको विपक्षमा थिए । त्यसवेलाका गृहसचिव पदमप्रसाद पोखरेल भन्छन् ‘सेना मार्फत दरवारको धारणा वाहिर आयो । सेनाले सुरक्षाको दृष्टिले तत्काल निर्वाचन सम्भव छैन राय दियो तर प्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेलले सेना परिचालन विनै दुई चरणमा निर्वाचन गराउन सकिने रिर्पोट दिए ।’

खरेलले पंक्तिकारसंगको अन्तवार्तामा भनेका छन्, ‘मैले भने सुरक्षा रणनीति म बनाउछु । त्यस आधारमा जाने हो भने चुनाव म गराउछु । तर सुरक्षा योजना चाही प्रहरी प्रधान कार्यालयकै हुनु पर्छ । तपाईका कन्सल्ट्यान्ट वा अरु कसैले वनाउने हो भने हुदैन ।’ प्रहरीले चुनाव गराउन सकिने रिर्पोट दिए पछि तत्कालीन प्रमुख निर्वाचन आयुक्त विष्णुप्रताप शाहलाई समेत निर्वाचन हुन सक्दैन भनेर सरकारलाई सिफारिस गर्न दरवारले लविङ गर्‍यो । ‘तर हक्की स्वभावका शाहले दरवारको चाहना विपरित चुनाव गराउन सकिने अभिव्यक्ति दिएपछि दरवारको चुनाव रोक्ने अन्तिम कार्ड फेल भएको पूर्व गृह सचिव पोखरेल बताउँछन् ।

चुनावको वातावरण वन्दै गयो तैपनि दरवार त्यसलाई रोक्न अन्तिम वल गरिरहेको थियो । प्रहरीले चुनावका लागि भनेर प्रधानमन्त्रीसंग पाँच वटा हेलिकप्टर माग गरेको थियो । प्रधानमन्त्री कोइरालाले राजासंग प्रहरीका लागि हेलिकप्टर किन्ने विषयमा कुरा गरे तर दरवारले सहमति दिएन । एक दिन खिन्न हुदै कोइरालाले आईजीपी खरेलसंग भने ‘आईजीसाप के गर्ने एउटा मनाङे व्यापारीलाई हेलिकप्टर किन्न दिने राजाले प्रहरीका लागि किन्न दिएनन् ।’ राजाको त्यो व्यवहारबाट कोइराला चिन्तित थिए । खरेलले भने ‘प्रधानमन्त्री ज्यु राजाले हेलिकप्टर किन्न दिएनन् भनेर हुदैन तपाईले अहिलेको अवस्थामा झगडा गर्नु उचित छैन । विकल्प खोज्नु पर्छ । राजासंग कुनै विषयमा विवाद गर्दा चुनाव गराउन नचाने शक्तिलाई नै बल पुग्छ ।’

खेरलले उपाए सुझाए, ‘राजाले किन्न दिएनन् ठिकै छ । तपाई भाडामा लिन सक्नु हुन्छ कि हुन्न ? प्रधानमन्त्रीले सोधे कति पैसा लाग्छ ? खरेलले पहिले नै हेलिकप्टर किन्न नसकिए भाडामा प्रयाग सक्ने गर्ने भनेर योजना वनाएका थिए । तत्काल उनले भने ‘२ करोड ।’ प्रधानमन्त्रीले खुसी हुदै भने ‘ल आईजी साप म भोली वा पर्सि भित्रै मन्त्रीपरिषद्वाट निर्णय गराएर त्यति पैसा प्रहरीलाई पठाई दिन्छु । नभन्दै समयमा पैसा प्रहरी प्रधान कार्यालय पुग्यो ।

चुनाव भयो । कांग्रेसले बहुमत ल्यायो र भट्टराई जननिर्वाचित प्रधानमन्त्री बने । जसरी भट्टराई प्रधानमन्त्री बने, त्यति चाँडै नै उनलाई हटाउने योजना पनि बन्न थाल्यो ।

हटाउने योजना

प्रधानमन्त्री भट्टराईले माओवादी समस्या समाधानका लागि अध्ययन गर्न शेरबहादुर देउवाको संयोजकत्वमा समिति बनाए र आफ्ना विश्वास पात्र गृहमन्त्री पूर्णबहादुर खड्कालाई माओवादीसँग वार्ताको वातावरण बनाउने जिम्मेवारी दिए । कांग्रेसका पुराना कार्यकर्ता दुर्गा सुवेदीलाई भट्टराईले माओवादीसँगको सम्पर्क सुत्र बनाएका थिए ।

माओवादीसँग वार्ता भइरहेको कुरा प्रधानमन्त्री भट्टराई, गृहमन्त्री खड्का, कांग्रेस नेता शेरवहादुर देउवा, प्रदिप गिरी र सुवेदीमै सिमित थियो । माओवादीसँग औपचारिक वार्ता गर्ने वातावरण तयार भयो । त्यसबेला राजा पोखरामा थिए । माओवादीसँग सम्पर्क सूत्रको काम गरेका सुवेदीले मसँग पछि भने, ‘जुन दिन किशुनजीले पोखरामै गएर माओवादीसँग वार्ता तयारी बारे राजालाई जानकारी गराए त्यही दिनदेखि भट्टराईलाई हटाउने खेल शुरु भयो ।’

सुरुदेखि नै कम्युनिष्टप्रति कठोर व्यवहार गर्दै आएका कारण वातावरण विग्रन सक्छ भनेर प्रधानमन्त्री भट्टराईले पार्टी सभापति कोइरालालाई समेत वार्ताको सुईको दिएनन् । सरकारले माओवादीसंग वार्ता गर्न लागेको सूचना पहिलो पटक सभापति कोइरालाले राजाबाट थाहा पाए । राजा र भारत दुवैले माओवादीसँग वार्ता होस् भन्ने चाहेका थिएनन् । २०४७ सालको संविधानमा राजालाई अधिकारविहिन बनाएर संविधान जारी गरेका कारण भट्टराई प्रधानमन्त्री बनेको दरबारलाई मन परेको थिएन । राजा वीरेन्द्र र युवराज दीपेन्द्र दुवैले कोइरालालाई गोप्य रुपमा भेटी भट्टराईलाई हटाएर उनी प्रधानमन्त्री बने सेनाले माओवादी नियन्त्रणका लागि साथ दिने आश्वासन दिए ।

पूर्व गृहसचिव पोखरेलले मसँगको अन्तवार्तामा भनेका छन्, ‘राजा र युवराजले कोइरालालाई भेटेको थाहा पाएपछि कोइरालासँग सोधे दीपेन्द्र र तपाईबीच कुरा भएर किशुनजीलाई हटाउन लागेको सुनियो नि भन्दा उहाँले खण्डन गर्नु भएन ।’ दरवार नेपाली सेनालाई मुख्य भूमिका दिएर आफ्नो नेतृत्वमा माओवादी समस्याको हल चाहन्थ्यो भने गिरिजाबाबु पनि भट्टराईको नेतृत्वमा हैन आफ्नै पहलमा समस्या हल नहोस् भन्ने चाहन्थे । त्यसैले भट्टराईलाई हटाउने विन्दुसम्म दुवैको स्वार्थ मिलेको थियो ।

भट्टराईलाई हटाएर कोइरालालाई प्रधानमन्त्री बनाउने दरबारको रणनीतिक चाल मात्र थियो । वास्तवमा दरवार माओवादी समस्यालाई देखाएर प्रजातन्त्रवादी शक्तिसंग आफ्नो शक्ति बढाउन वार्गेनिङ गरिरहेको थियो । उ दरबारको पहल र नेतृत्वमा माओवादी समस्याको हल होस र त्यसका लागि दलहरुले आफूलाई आग्रह गरुन् भनेर भूमिकाको खोजीमा थियो ।

अर्कोतर्फ सेनाको साथ पाउने राजाको आश्वासनसँगै कोइरालाले घोषणा गरे, ‘देशलाई माओवादी आतंकबाट मुक्त गर्न अब म कठोर निर्णय गर्दैछु । त्यसको समिक्षा गर्ने जिम्मेवारी इतिहासलाई दिएको छु । एकातिर आफ्नो पाँच दशक लामो राजनीतिक मित्र कृष्णप्रसाद भट्टराई प्रति इमान्दार हुनु पर्छ भने अर्को तर्फ राष्ट्र र जनताका लागि कठोर भएर अघि वढ्नै पर्ने परिस्थितीमा छु ।’ (कान्तिपुर, २०५६ फागुन)

पार्टीका एक मात्र जिवित संस्थापक नेतालाई यसरी पदच्युत गरिनुहुन्न, बरु समय दिएर राजीनामा गराउनु उचित हुन्छ भन्ने पक्षमा कांग्रेसका धेरै नेताहरु थिए । कांग्रेस नेता ताराणीदत्त चटौतले कोइरालालाई सल्लाह दिएका थिए- ‘दाजु अहिले किशुनजीलाई हटाएर तपाईं प्रधानमन्त्री हुँदा राम्रो सन्देश जाँदैन प|mान्सबाट फर्किएपछि राजीनामा गर्छु भन्नु भएको छ, त्यति बेलासम्म कुर्दा बेस होला ।’ कोइरालाले त्यतिबेला दिएको जवाफ चटौतले २०६३ मा मलाई सुनाए- ‘गिरिजाबाबुले भन्नु भयो तारणीजी, म कुर्सीमा बस्नको लागि किशुनजीलाई हटाउन लागेको होइन, मलाई प्रधानमन्त्रीको त्यो थोत्रो कुर्सीमा बस्ने रहर होइन । ढिलो भयो भने म पनि सम्हाल्न सक्ने छैन ।’

कोइरालाकै निर्देशनमा २०५६ फागुन २९ गते कांग्रेसका ६९ सांसदले प्रधानमन्त्री भट्टराईविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरे । खुमबहादुर खड्का, गोविन्दराज जोशीलगायतका भट्टराई सरकारका मन्त्रीहरूसमेत भट्टराई हटाउन सक्रिय थिए । नेपालको इतिहासमै प्रधानमन्त्री माथि पार्टीबाटै अविश्वास प्रस्ताव दर्ता भएको थियो । अर्कोतर्फ त्यसैबेला माओवादीले प्रहरी चौकीहरुमा आक्रमण बढाइरहेका थिए भने सुराकीको आरोपमा दुर्गम गाउँमा निर्दोष मानिसहरुको घाँटी रेट्ने क्रमलाई तीव्र बनाउदै थिए ।

२०५६ फागुन १० गते कोइरालाको अभियानलाई सहयोग गर्न भट्टराई सरकारका ११ मन्त्रीले सामुहिक राजिनामा गरे । जसमा खुमवहादुर खड्का, गोविन्दराज जोशी, तारणीदत्त चटौत, डा. रामवरण यादव, सुरेन्द्रप्रसाद चौधरी, रामवहादुर गुरुङ, मो.आफताव आलम, नरेन्द्रविक्रम नेम्वाङ, रामवहादुर गुरुङ र नारायणसिंह पुन थिए । चैत्र १ गते अर्का मन्त्री रामकृष्ण ताम्राकारले राजिनामा गरे ।

दोस्राे अविश्वास

भट्टराईले उपयुक्त समयमा राजिनामा दिने आन्तरिक सहमति भएपछि पहिलो पटक दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता भयो । तर प्रधानमन्त्रीले राजिनामा दिएनन् । बरु उनको फ्रान्स भ्रमण तय भयो । जंगवहादुर राणापछि पहिलोपटक नेपालका प्रधानमन्त्री फ्रान्स जाँदै थिए ।

कोइरालाले एक दिन संसदीय दलका सचिव बेनुप प्रसाईलाई बोलाएर भने, ‘किशुनजीबाट नचल्ने भयो । राजाले समेत जसरी भए पनि हटाउनु पर्छ भनेका छन् । नत्र सहयोग गर्दिन भन्छन् । मैले राजिनामा दिएर सहयोग गर्नुस् भनेको उहाँ बुझ्दै बुझ्नु हुन्न ।’ त्यहीबीच भट्टराईविरुद्ध दोस्रोपटक अविश्वास प्रस्ताव दर्ता भयो ।

यस्तैमा एक दिन कृषिमन्त्री चक्र बास्तोलालाई बोलाएर कोइरालाले भने- ‘मलाई सहयोग गर्नु पर्‍यो चक्रजी । मन्त्रीबाट राजीनामा गर्नुपर्‍यो ।’ चक्रले जवाफ दिए- ‘किशुनजीलाई प्रधानमन्त्री बनाउने नाराका साथ हामीले चुनाव लडेका हौं । त्यति बेला उहाँलाई प्रधानमन्त्री बनाउने रणनीति थियो । हटाउने होइन । त्यसैले नैतिकताको कुरा पनि आउछ । म यो इष्युमा तपाईलाई सहयोग गर्न सक्दिनँ ।’

त्यो बेला कोइरालाका साथ उहाँकी भाउजु नोना कोइराला पनि थिइन । उनले भनिन्- ‘चक्रजी तपाई गिरिजाबाबुलाई भोट समेत दिनु हुन्न त ?’ चक्रले जवाफ दिए- ‘अहिले म यो विषयमा केही भन्दिनँ ।’

वास्तवमा भट्टराईले फ्रान्समै रहेको मौकामा माओवादीसँग वार्ता गर्ने अन्तिम तयारी भएको थियो । वार्ताका लागि सम्पर्क सूत्रको काम गरेका सुवेदी भन्छन् ‘त्यति बेला फ्रान्स वा कुनै युरोपियन मुलुकमा माओवादीसँग वार्ता गर्ने अन्तिम योजना बनेको थियो । त्यही थाहा पाएर भट्टराईलाई प्रधानमन्त्रीबाट हटाइएको हो ।’

पार्टी कार्यालयमा कोइराला र भट्टराईलाई सहमत गराएर अविश्वास प्रस्ताव फिर्ता गर्ने विषयमा बैठक भयो । फ्रान्सबाट फर्किएपछि किसुनजीले राजिनामा गर्ने गरी अविश्वास प्रस्ताव फिर्ता गरौ भन्ने शेरवहादुर देउवाले राखे । कोइरालाले भने ‘इट इज टु लेट’ मैले साथीहरूलाई निर्णय गर्ने अधिकार दिइसकेको छु ।

अन्ततः २०५६ चैत्र ३ गते संसदमा एउटा मार्मिक बक्तव्य दिएर भट्टराईले प्रधानमन्त्रीबाट राजीनामा गरे । संसद्मा वाचन गरेको बक्तव्यमा भट्टराईले भनेका थिए ‘यो मुलुकमा २०५२ सालदेखि जारी माओवादी जनयुद्ध र हिंसाको खेल खेल्नेहरु वार्ताको टेवुलमा आएर समस्याको टुडगो लगाउन तयार भई जुनबेला प्रतिनिधि खटाइएका हुन्छन् त्यही मौकामा अविश्वासको तानाबाना किन बुनिइरहेको हुन्छ ?’

वास्तोलाले पंक्तिकारसँग भनेका थिए, ‘किसुनजीलाई अपमानजनक रुपमा प्रधानमन्त्रीबाट निकाल्ने दरवारीया योजना नेपाली कांग्रेस पार्टी, संसद र कांग्रेस भित्र असमझदारी पैदा गर्ने गम्भिर षडयन्त्र अन्तर्गत भएको थियो । तर भट्टराईको समझदारी र सुझबुझका कारण दरवार सफल भएन ।’

शैलजा आचार्यले त कोइरालाको त्यो अभियानको खुलेरै त्यसको विरोध गरिन । नोना कोइराला पनि यसको विरोधमा थिइन् ।
कान्तिपुर (२०७१ चैत्र १४) बाट -जगत नेपाल

सम्बन्धित शिर्षकहरु