उपाधी जित्ने लक्ष्यमा नेपाल, आज ब्रुनाइसँग प्रतिष्पर्धा हुँदै

काठमाडौं । एएफसी सोलिडारिटी कप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार ब्रुनाइको सामना गर्दैछ । समूह चरणको पहिलो खेलमा टिमोर लिस्टेविरुद्ध बराबरी खेलेको नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ मैदान ओर्लिदैछ ।
नेपाल र ब्रुनाइ्बीचको खेल मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा नेपाली समयअनुसार सवा ५ बजे सुरु हुनेछ । सोलिडारिटी कपको उपाधि जित्ने लक्ष्यका साथ मलेसिया पुगेको नेपाललाई ब्रुनाइसँगको समूहको दोस्रो खेलमा त्यति धेरै दबाब भने छैन । तर, सेमिफाइनलमा नजर लगाएको नेपाल ब्रुनाइसँग सर्तक रहनेछ । नेपाली मुख्य प्रशिक्षक गोटुकु कोजीले खेल हुने सारावाक रंगशालामा ब्रुनाई परिचित रहेकोले उसका लागि घरेलु मैदान जस्तै रहेकोले नेपाल सतर्क रहेको बताए ।
ब्रुनाइसँगको खेल अघिको प्रि–म्याच कन्फरेन्समा बोल्दै कोजीले भने, “हामी ब्रुनाइसँग सतर्क हुन जरुरी छ । किनकी उनीहरु पहिलो जितले उच्च मनोबलले मैदान उत्रने छन्,” कोजीले थपे, “तर, हामीले दुई दिन अभ्यासको मौका पाएको छौं । त्यसैले हामीले हाम्रो खेलमा सुधार गर्दै बलियो प्रदर्शन गर्ने छौं ।”
मंगलबार हुने खेलमा नेपाल ब्रुनाईसँग बराबरी वा तीन गोलको अन्तरमा पराजित भएपनि सेमिफाइनलमा पुग्नेछ । किनकी पहिलो खेलमा ब्रुनाईले टिमोर लिस्टेलाई ४–० ले पराजित गरेको फाइदा नेपाललाई हुनेछ । तर, जित निकाल्दै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुग्न चाहन्छ । यदी ब्रुनाइसँग कम गोल अन्तरमा पराजित भए नेपाल उपविजेता बन्नेछ । नेपालले पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको थियो ।
यता नेपाल ब्रुनाइसँग सन् २००६ मा बेहोरेको हारको बदला लिने तयारीमा हुनेछ । नेपाल र ब्रुनाई यस अघि एएफसी च्यालेन्ज कप २००६ अन्तर्गत समूह चरणमा एक खेल खेलेका थिए । उक्त खेलमा ब्रुनाइले नेपाललाई २–१ ले पराजित गरेको थियो । त्यसैले नेपाल ब्रुनाइलाई पहिलोपटक पराजित गर्ने योजनामा हुनेछ ।
लिग कम नकाउटका आधारमा जारी प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा समूहको बिजेता र उपबिजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । एएफसी च्यालेन्ज कप आयोजना हुन छोडेपछि एएफसीले त्यसको विकल्पको रुपमा एएफसी सोलिडारिटी कप आयोजना गरेको हो ।

सम्बन्धित शिर्षकहरु