भदौ १७ ।चितवन,इबोला भाइरस लागेका शंकास्पद बिरामीलाई छुट्टै राखेर उपचार गराउन भरतपुर अस्पतालले छुट्टै आइसोलेसन वार्ड (विशेष कक्षा) स्थापना गरेको छ ।
अस्पतालले छुट्टै कक्षा स्थापना गरेर आवश्यक सावधानी अपनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हरिबहादुर केसीले जानकारी दिनुभयो ।
आवश्यक तयारीसँगै प्राविधिक राख्ने विषयमा छलफल भइरहेको र अहिलेसम्म मेडिकल चिकित्सकलाई सो विषयमा जानकारी गराएको र वार्डका लागि आवश्यक सुविधा तथा विशेषयन्त्र भने आइनसकेको उहाँले बताउनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कक्षा स्थापना गर्न निर्देशन दिएपछि अस्पतालले यस्तो व्यवस्था गरेको हो । दुईसय शय्याभन्दा बढी भएका अस्पताललाई सरकारले विशेष कक्षा स्थापना गर्न निर्देशन दिएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार गएको फेब्रुअरीमा पश्चिम अफ्रिकाबाट यो भाइरस फैलिएको हो । अहिलेसम्म यो रोगबाट एक हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
एक गम्भीर प्राणघातक रोग भएको भन्दै सङ्गठनले यसको मृत्युदर ९० प्रतिशत रहेको छ ।
यसको सङ्क्रमण भएको मानिसमा उच्च ज्वरो आउने, आन्तरिक रक्तस्राव हुने, टाउको दुख्ने, खाना नरुच्ने र श्वासप्रश्वासमा समस्या हुने गर्दछन् ।
यो रोग सन् १९७६ मा पहिलोपटक सुडान र कङ्गोमा फेला परेको सङ्गठनले जनाएको छ । यो मानिसको रगत पसिना तथा शरीरको अन्य तरल पदार्थको सम्पर्कबाट सर्ने चिकित्सकले बताएका छन् ।








