नेपालको संसदमा ‘ब्याक गिअर’ छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा ‘ब्याक गिअर’ नभएकाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीबिरुद्धको महाभियोगको प्रस्ताव पास गर्नुको विकल्प नरहेको जिकिर गरेका छन् । कार्कीबिरुद्धको प्रस्ताव पास गराउन दबाब दिने उद्देश्यले ज्ञापनपत्र बुझाउन शनिबार बिहान बालकोट पुगेका संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिहरूलाई उनले उक्त कुरा बताएका हुन् ।
ओलीको भनाइ उद्धृत गर्दै अनेरास्ववियुका प्रचार विभाग प्रमुख सुदीप शर्माले भने, “यो प्रस्ताव धेरै सोचविचार गरेर अघि बढाइएको हो, प्रमुख दलका सबैजसो नेताहरूसँग यो विषयमा छलफल भएको छ, प्रस्ताव पास गर्नुको विकल्प कसैसँग छैन ।”
भेटमा प्रमुख प्रतिपक्षीदलका नेतासमेत रहेका अध्यक्ष ओलीले प्रस्ताव पेश गर्न जति आवश्यक संख्या थियो त्यती सांसदहरूको मात्र हस्ताक्षर रहेको बताउँदै उनले प्रस्तावमा आफ्नो पनि हस्ताक्षर नरहेको बताए ।
“एमाले भित्र पनि यो विषयमा संस्थागत निर्णय भएको छैन, त्यसैले मैले पनि हस्ताक्षर गरिनँ, तर एमाले यो प्रस्तावको पक्षमा पूर्णरूपमा उभिन्छ, अरु दलहरू पनि प्रस्तावको पक्षमा आउनुहुन्छ,” भेटमा उनको भनाइ थियो ।
संयुक्त विद्यार्थी संगठनले प्रमुख पार्टीका सबैजसो शीर्ष नेतालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको शर्माको भनाइ छ ।

सम्बन्धित शिर्षकहरु