काठमाडौँ, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ०८ः४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका लगाए ।
राष्ट्रपतिलाई उनले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपतिका पुरोहित पण्डित खेमचन्द्र ढकाल पनि उपस्थित थिए।
सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उनका काका काकी खगेन्द्र पाण्डे र ज्ञानु पाण्डे तथा जयन्त पाण्डे र सावित्री पाण्डेले पनि टीका लगाइदिए । राष्ट्रपति भण्डारीले पनि छोरी उषाकिरणलाई टीका लगाइदिए।
साथै, सोही अवसरमा राष्ट्रपतिले पनि आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाइदिएका थिए। राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिएकी हुन् । सो क्रम साँझ अवेरसम्म चलेको थियो ।








