काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीका १९ जना कार्यकर्तालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
भारतसँग भएको २५ बुँदे सहमतिको विरोधमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कालो झन्डा देखाउन विमानस्थल पुगेका विप्लव माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले संयुक्त रुपमा जारी गरेको २५ बुँदे विज्ञप्तिमा उपर कर्णाली र अरुण तेश्रो जलविद्युत आयोजनालाई निरन्तरता दिने, पञ्चेश्वर परियोजनलाई कार्यान्यन गर्ने राष्ट्रघाती सम्झौता भएकाले आफूहरु विरोधमा उत्रिएको विप्लव माओवादी काठमाण्डु जिल्ला सदस्य रजमान तामाङले काठमाण्डु टुडेलाई बताए ।
दिल्लीमा भएको राष्ट्रघार्ती सम्झौताको विरोध गर्दा आफ्ना १९ जना कार्यकर्ता पक्राउ परेको बताउँदै तामाङले भने, ‘दिल्लीमा बसेर भूकम्पपीडितलाई राहत उपलब्ध गराउने र नेपालको संविधान लगायतका विषयमा सहमति गरिएको छ । यो हाम्रा लागि अमान्य छ । यस राष्ट्रघाती सम्झौताको विरोधमा हामी शरीरमा एकथोपा रगत रहेसम्म लड्नेछौँ ।’
तामाङले उपर कर्णाली, अरुण तेश्रा र पञ्चेश्वर जस्ता महत्वपूर्ण आयोजनालाई निरन्तरता दिने विषय राष्ट्रघाती भएको बताउँदै जीवन मरणको अवस्था आए पनि आफूहरु त्यसको विरोध गरिरहने चेतावनी दिए ।
आइतबार प्रधानमन्त्री भारतबाट आउनुअघि यसको विरोधमा विमानस्थलमा कालो झन्डा देखाउन गएका विप्लव माओवादीनिकट विद्यार्थी संगठनका नेता सुनिता बम, लोकेश विक, केस प्रकाश अधिकारी लगायत १९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।








