सुरु भए मत्स्येन्द्रनाथका अन्तिम पर्वहरु

RAtoललितपुर। पाटनको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको भोटो जात्रा सकिएको एक महिना पछि अन्तिम पर्व सुरु भएका छन् ।

जात्रा सकिएको जानकारी दिन र बाँकी रहेका सामान थन्काउनका लागि यही महिनामा तीनवटा पर्व हुने गुठी संस्थान ललितपुरले जनाएको छ ।

यही महिनामा गुहुला पारु, किसि गुठी र कोन्हा पूजा गरेर तीन किसिमका पर्व हुने कार्यालयका प्रमुख वैकुण्ठ आचार्यले बताए । उनले भने, “यी पर्व सकिएपछि मात्रै मत्स्येन्द्रनाथको जात्राका काम यस वर्षका लागि सकिन्छ ।”

गुहुला पारु पर्वमा रातभर बत्ती बाल्नुपर्ने हुन्छ । यस पर्वलाई जात्राको अन्त्यका रुपमा हेरिन्छ । कोन्हा पूजामा जावलाखेलमा राखिएको पाङ्ग्रा थन्काउने काम हुन्छ । किसि गुठीमा हात्तीको श्राद्ध गर्ने गरिन्छ ।
मत्स्येन्द्रनाथको जात्रा अवधिभर जम्मा २० वटाभन्दा बढी पर्व सञ्चालन हुने गरेका छन् ।

वर्षभर नै जात्राको तयारी भइरहने प्रमुख आचार्य बताउँछन् । उनी भन्छन्, “जिल्लामा अरु खालका जात्रा भएपनि सबैभन्दा बढी समय मत्स्येन्द्रनाथको जात्रामा नै समय खर्च हुन्छ ।”

छ महिनासम्म सञ्चालन हुने जात्रालाई उपत्यकाकै सबैभन्दा लामो जात्रा मानिन्छ ।

सम्बन्धित शिर्षकहरु