अस्ट्रेलिया, एनआरएन अष्ट्रेलियाले स्पोर्टस डेमा क्रिकेट र फुटबलका प्रतियोगिता बाँकी छ । भलिबल र बास्केटबलका खेल यसअघि नै सम्पन्न भइसकेका छन् भने अब क्रिकेट र फुटबलका प्रतियोगिताहरुको सञ्चालन हुने आयोजकले जानकारी दिएको हो । खेल संयोजक नन्द गुरुङले क्रिकेटको तयारी अन्तिम चरणमा रहेको असनेपालन्युजलाई जानकारी दिए ।
“आगामी मे २८ तारिखका दिन हामीले क्रिकेट प्रतियोगिता आयोजना गर्नेछौं । जसमा १२ वटा टिम सहभागी हुँदैछन्,” उनले भने ।
सिड्नीको टेम्पेपार्कस्थित होलबिच एभेन्यूमा प्रतियोगिता आयोजना गरिनेछ भने सकिएन क्रिकेट क्लब, वारियर्स राइनो क्रिकेट क्लब, जीएनआर रक्स क्रिकेट क्लब, डाँफे क्रिकेट क्लब, लुमिबनी क्रिकेट क्लब, नया क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब, क्यानबेरा क्रिकेट क्लब, लाली गराँस क्रिकेट क्लब, बाउन्ड्रीलाईन क्रिकेट क्लब र वेष्ट युनाईटेड क्रिकेट क्लब प्रतिस्पर्धामा छन् । फुटबलका लागि अहिले नै १४ वटा टिमले आफ्नो सहभागिता दर्ता गराइसकेका छन् जसमा क्यानबेराबाट क्यानबेरा एफसी र भिक्टोरियाबाट यति एफसी र ब्रिसबेनबाट गोर्खा एफसी सहभागी हुँदैछन् ।








