प्रधानमन्त्रीलाई गणेश डुम्रेको चिठी।

जनप्रिय प्रधानमन्त्री ज्यू
कोटी कोटी नमन
प्रधानमन्त्रीको सपथ ग्रहणमा तपाईँले ईश्वर भन्दा जनताको नाममा सपथ लिनुभएकोले जनताको लोकप्रिय बन्ने तपाईँको सपनालाई साथ दिने जनप्रिय शब्दले सम्बोधन गरेको अन्यथा नलिनु होला । म गाउँको एक सामान्य किसानको छोरा खासै पढेलेखेको पनि छैन, तर्क वितर्क गर्ने खुबी पनि छैन ।
शब्दहरुको अर्थ पनि राम्रोसँग बुझ्दिन र जीवन नै व्यर्थ जस्तो लाग्छ । जब सरकारले एक जना भारतीय नागरिक सहित तराई मधेश आन्दोलनको क्रममा मारिएका केही व्यक्तिहरुलाई मधेशी मोर्चा लगायत केही दलले सहिद घोषणा गर्नुपर्ने माग र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको समाचार गुञ्जियो त्यस लगत्तै सकारकाले ५२ जनालाई सहिद घोषणा गरेको मेरो कानमा प¥यो अनि झल्याँस् ब्युझिँन पुगेँ अनि मनमनै सोंचे केही दिन पछि म लगायत केही साथीहरुको साथमा हामी मुस्ताङ जाँदै छौं कतै आफ्नै कारण उतै हाम्रो मृत्यु भयो भने कुनै दल विशेषको सिफारिसमा हामीलाई सहिद घोषणा गर्नुहुन्छ कि भनेर हतार हतारमा तपाईँलाई पूर्व सचेतनाका लागि यो बिन्ती कोर्दै छु र यही पत्र मार्फत म उद्घोष गर्दछु कि म लगायत मेरो परिवारका कुनै सदस्य वा मेरा नजिकका मित्र जसलाई मैले र जसले मलाई पूर्ण विश्वास गर्नुहुन्छ उहाँहरुको कुनै व्यक्तिगत वा अन्य कारणले मृत्यु भयो भने कसैले सहिदको माग राखी सडक संसद् वा सरकार वा कतै आवाज उठाए भने, सत्ता र शक्ति जोगाउने नाउँमा वा भोट बढाउने नाममा अनुनयविनय गरेरै भनेको छु बिन्ती हामीलाई सहिद नबनाउनु होला । आफ्नो दैनिक जीवन निर्वाह गर्नको इन्धन र खाद्यान्न खरिद गर्न जाँदा जिउँदै जलाउनेहरुले घाइतेको नाममा राहत पाउने भए तर जिउँदै जली खरानी हुने सोझा साझा नेपालीहरुका पनि परिवार छन् तिनको पनि आत्मा छ, तिनलाई अब के उपहार दिनुहुन्छ ? नाकाबन्दी गरी नेपालीको मुख बन्द गर्ने एम्बुलेन्स र औषधीको निकासीमा समेत प्रतिबन्ध लगाउनेहरु नेपाली सुरक्षाअंग माथि पेट्रोल बम प्रहार गरी राष्ट्रलाई लात हान्ने विदेशी आतंककारीहरु सहिदको सूचीमा परी १० लाख पाउने भए तर तिनैले नाकाबन्दी गरी औषधि उपचारको अभावमा मर्नेहरु, एम्बुलेन्समा इन्धनको अभावले मृत्युको शैøयामा छटपटाई मर्नेहरु र नाकाबन्दीले काम नपाएर भोकमरीबाट मृत्युवरण गर्नेहरुले पनि उपहार वा सम्मान पाउँछन् ? वा सहिद भन्दा ठूलै उपमाको आश गरी बस्ने ? म जस्तो सामान्य नागरिकलाई यसबारे प्रष्ट पारिदिनुभएमा आभारी हुने थिएँ ।
मेरो सामान्य मस्तिष्कको बुझाईमा व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिई राष्ट्र र राष्ट्रियताकालाई शीरमा राख्दै राष्ट्रिय एकता, अखण्डता, स्वतन्त्रता, स्वाधीनतालाई प्राण भन्दा प्यारो ठानेर निरंकुशताको जंजीरबाट देश र जनतालाई मुक्ति दिलाउनको लागि हाँसी हाँसी आफ्नो प्राण उत्सर्ग गर्ने महान् व्यक्ति नै सहिद हो भन्ने लाग्थ्यो तर परिभाषा फेरिएछ क्यारे राष्ट्रको झण्डा वा संविधान जलाउने र जातीय एवं सद्भाव भड्काउनेहरु आज सहिद घोषित भएका छन् । सहिदको खेती गरेर सरकारको उन्नतशील बाली कति फस्टाउला प्रधानमन्त्री ज्यू ? वास्तविक सहिदको अवमूल्य गरी जथाभावी गरिएको सहिद घोषणाले कुनै दिन जनताले पनि तपाईँलाई यसरी नै अपहेलित गरी सहिद घोषणा नगर्लान् भन्न सकिँदैन ?
अहिले नेपालमा १५ हजारको हाराहारीमा सहिद भएका या पु¥याइएको छ । लखन थापामगर होस् या चार सहिद, जनआन्दोलनका सहिद हुन उनीहरुको बलिदानलाई सहिद घोषणाको श्रृङ्खलाले लज्जीत र उपहास गरेको छ । दुर्घटनामा परेका, राज्यका विरुद्ध हतियार उठाउनेदेखि सुरक्षा फौज माथि भाला र गोली प्रहार गरी छिया छिया पार्ने, चार वर्षे दुधे बालकलाई पनि भाला रोपी मार्नेहरु सहिद बन्ने लज्जाको विषय बनेको छ । त्यसैले साहस गर्नुस् प्रधानमन्त्री ज्यू सहिदको वास्तविक अर्थ र मर्म, त्याग, तपस्यालाई बुझ्नुहोस् तपाईँबाट जनताले धेरै अपेक्षा गरेका छन् हो चुनौति पनि छ तर सफल हुने मान्छेले त्यो चुनौतिलाई अवसरको रुपमा ग्रहण गर्छ । तपाईँ नेपालको परिवर्तनको संवाहक हो, चेतनाको विगुल हो, अझै पनि समय छ, परिवर्तन विकास सम्भव छ, यो सम्भावना द्वारहरु खोल्नुहोस् शुभकामना छ ।

गणेश डुम्रे
देवदह रुपन्देही

 

 

 

सम्बन्धित शिर्षकहरु