काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई आग्रह गरेको छ।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै तत्काल चुनावको मिति तोक्न आग्रह गरेका हुन् ।
आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘वर्तमान संवैधानिक एवं कानूनी ब्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्ब हुदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य ब्यवहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ ।’
बैशाखमै निर्वाचन गर्न आयोग तयार बताउँदै स्थानीय तहको चुनाव नरोक्न आग्रह गरेको छ । सत्तारुढ गठबन्धनले संविधान बाझिएको भन्दै ऐन संशोन गरेर मात्र निर्वाचन गर्ने सहमति गरेको छ ।
तर, स्थानिय तह प्रतिनिधिविहीन बनाउन नहुने भन्दै सरकारले तोकिएको समय बैशाखमै निर्वाचन गर्नुपर्ने सर्वत्र दबाव बढेको छ ।
यता प्रधानमन्त्री शेरबहादुर देउवा भने तीनै तहको निर्वाचन एकैपटक मंसिर, माघ वा फागुनमा गर्ने रणनीतिमा छन् । एकैपटक निर्वाचन गर्दा खर्च कम लाग्ने उनको धारणा छ । तर नेकपा एमाले, राप्रपा, नेपाली कांग्रेसको संस्थापन इतर पक्ष, लगायत विभिन्न राजीनितक दलका नेताहरुले स्थानिय तहको निर्वाचन बैशाखमै हुनुपर्ने अडान राखेका छन् ।








