नेपाल र नेदरल्यान्डस आज अपरान्ह भिड्दै

शिर्ष चारमा रहन नेपाललाई जित्नैपर्ने पर्ने दबाब
1441684755cricket-pic.jpgकाठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) विश्व क्रिकेट लिग च्यापियन्सीप (डब्लुसीएल) अन्तर्गतको चौथो चरणको खेलमा आज (शनिबार) नेपालले नेदरल्याण्डससँग पहिलो खेल खेल्दै छ ।
आम्सटरडमस्थित भिआरए मैदानमा नेपालले आज अपरान्ह घरेलु टोली नेदरल्यान्ड्स पहिलो खेल खेल्दै छ । नेपाल र नेदरल्यान्ड्सबिचको खेल नेपालीसमय अनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुने छ । त्यसपछि नेपालले सोमबार नेदरल्यान्ड्ससँग दोस्रो खेल खेल्ने छ ।
नेपाललाई विश्वकप छनोटको सम्भावना कायम राख्न नेदरल्यान्ड्ससँगको खेल्न निकै महत्वपूर्ण रहेको छ । किनकि नेदरल्यान्ड्ससँगको खेलले नै नेपाल शीर्ष चारमा पर्ने वा नपर्ने लगभग तय गर्नेछ । विश्वकप छनोटको सम्भावना कायम राख्न च्याम्पियनसिपको शीर्ष चारमा पर्नुपर्ने हुन्छ । त्यसैले आज नेपाल जित्ने लक्ष्यसहित मैदान ओर्लनेछन् । तर, च्याम्पियनसिपको शीर्ष टोली नेदरल्यान्ड्सविरुद्ध नेपाललाई कठिन भने हुनेछ । त्यसमाथि नेदरल्यान्ड्स घरेलु मैदानमा खेल खेल्दै छ । यस्तोमा नेदरल्यान्ड्सविरुद्ध नेपाल केही दबाबमा हुनेछ ।
नेपाल र नेदरल्यान्ड्स ५० ओभरको खेलमा दुई पटक भिडेका छन् । जसमा नेपाल र नेदरल्याण्ड्स दुबैले एक एक खेल जितेका छन् । सन् २०१३ मा न्युजिल्याण्डमा भएको एकदिवसीय विश्वकपको छनोट खेलमा नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको थियो। गत वर्ष नामिबियामा भएको आइसीसी डिभिजन टु मा भने नेपालले नेदरल्याण्डसलाई २ विकेटले पराजित गरेको थियो । तर, घरेलु मैदान र युरोपको पिचमा खेल्न नेपाललाई त्यति सहज भने छैन । तर, नेपाली टोलीको एक साताको इंग्ल्यान्ड भ्रमणले त्यसलाई केहि हदसम्म सहयोग गर्ने छ ।
नेदरल्यान्ड्स लिगमा अपराजित रहेको छ र ६ खेलबाट १० अंक जोडेको छ । यता, ६ खेल खेलेको नेपाल ४ अंकसहित छैटौ स्थानमा रहेको छ । नेपालले ६ खेलमा ४ हार र २ जित निकाल्दै ४ अंक बटुलेको हो । च्याम्पियनसिपमा हङकङ ९ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै नेपालभन्दा अघि पपुवा न्युगिनी ८,स्कटल्याण्ड ७ र केन्या ६ अंक जोडेको छ । त्यसैले नेपाललाई शिर्ष चारमा रहन नेदरल्यान्ड्ससंगको खेल जित्नैपर्ने हुन्छ । नेदरल्यान्ड्ससंग खेल गुमाए नेपाललाई शिर्ष चारमा रहदै विश्वकपमा छनोट हुने सम्भावना कम्जोर हुनेछ ।
च्याम्पियनसिपअन्तर्गत नेपालले यसअघि स्कटल्याण्ड र पपुवा न्युगिनीसंगको चार खेल गुमाएको थियो । तर, नेपालले गत बैशाख किर्तिपुर मैदानमा नामिबियासंगको दुई खेल जित्दै विश्वकप छनोट खेल खेल्ने आशा जिवित बनाएको थियो । नेदरल्यान्ड्सपछि अब नेपालले हङकङ, केन्या र युएईसँग प्रतिस्पर्धा गर्नेछ ।
आईसीसीको तालिका अनुसार नेपालले सन् २०१५ देखि दुई वर्षको अवधिमा १४ वटा खेल खेल्नेछ । यदि नेपाल च्याम्पियनसिपको शीर्ष चारमा अट्न सके एकदिवसीय क्रिकेट खेल्ने अवसर पाउनेछ । यस च्याम्पियनसिप खेलिरहेका ८ देशमध्ये शीर्ष ४ देशले सन् २०१९ मा इंगल्याडमा हुने विश्वकप क्रिकेटको छनोट चरणमा सहभागिता जनाउन पाउनेछन् ।
सन् २०१७ को मध्यसम्म चल्ने च्याम्पियनसिपका शीर्ष चार टोली छनोटमा पुग्नेछन् । छनोट खेल सन् २०१८ मा बंगलादेशमा हुँदैछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा नपरे नेपालले आइसीसीले आयोजना गर्ने डिभिजन २ खेल्नुपर्ने हुन्छ । डिभिजन टु को शीर्ष दुइ स्थानमा रहेमात्र पुनः च्याम्पियनसिप खेल्न पाउनेछ ।

सम्बन्धित शिर्षकहरु