काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनचाहना विपरीत आफ्नो नेतृत्वको सरकार परिवर्तन गरिएको बताएका छन् ।
प्रेस चौतारी नेपालले आज पार्टी कार्यालय धुम्बाराहीमा गरेको अन्तर संवाद कार्यक्रममा अध्यक्ष ओलीले कृत्रिमरुपमा सरकार परिवर्तन भएको उल्लेख गर्नुभयो ।
“अधिल्लो सरकार परिवर्तन गर्नु कुनै आर्थिक, सामाजिक कारण थिएन । काम गर्न र शान्ति सुरक्षा कायम गर्न नसकेको आरोपमा पनि होइन,” उनले भने “कामको लागि सरकार परिवर्तन आवश्यक थिएन ।”
पूर्वप्रधानमन्त्री ओलीले आफ्नो सरकारले मुलुकको स्वाभिमान, राष्ट्रिय हित र विकास माथि उठाएको दावी गरे। उनले साम्प्रादायिक र राष्ट्रिय एकता भाड्ने खालका क्रियाकलाप भइरहेको भन्दै राजनीतिक र संवैधानिक तित्तता ल्याउने षड्यन्त्र भइरहेको आरोप लगाए ।
अध्यक्ष ओलीले एमाले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै भने– “सरकारका सकारात्मक कदम चाल्दा एमालेको साथ हुन्छ । तर त्यस्ता सकारात्मक काम हुने सम्भावना कम देखेको छु ।” उनले अहिलेको सरकारले १४ राजदूतको सिफारिस फिर्ता लिनु बेठिक भएकोे बताए ।
चौतारी अध्यक्ष गणेश बस्नेतको सभापतित्वमा सम्पन्न संवादमा एमालेका महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, प्रचार विभाग प्रमुख योगेश भट्टराई उपप्रमुख सूर्य थापाको उपस्थिति थियो । रासस








