धनकुटा बस दुर्घटना अपडेटः ज्यान गुमाउनको संख्या १२ पुग्यो

bus-accident-siduwaधनकुटा । संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा२ख ७३६६ नम्बरको यात्रुबाहक बस बिहीबार धनकुटाको परेवादिन–५ सिधुवा बजारमा दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेका अनुसार दुर्घटनामा परी पूर्व अर्थ राज्यमन्त्री खेवा सहित सात जना घटनास्थलमै र पाँच जनाको उपचारका क्रममा निधन भएको हो ।
खेवा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री थिए । सो बस दुर्घटनामा परी मृत्यु भएकामध्ये अहिलेसम्म खेवासहित दश जनाको सनाखत भएको छ । मृत्यु हुनेमा धरानका वेदप्रकाश अग्रवाल र परेवादिन–४ का तारा बस्नेत उनकी तीन वर्षीया छोरी रेखा बस्नेत रहेका छन् । त्यस्तै परेवादिन–७ का अतिमान तामाङ, परेवादिन–५ की चिनमाया भट्टराई, तेह्रथुम, फुलेक– ६की होमा पौडेल, बुढीमोरङ–८ का सनम तामाङ, महादेव कटहरे– ३ का बीरबहादुर काफ्ले र लेगुवा–२ का तेजबहादुर थापा रहेको पाण्डेले जानकारी दिए ।
दुर्घटनामा परी दर्जनौँ यात्रु घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु