बैतडी । लगातारको वर्षासँगै खसेको पहिरोले सोमबार बैतडीको भूमिराजमा एक घर पुरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार भूमिराज–७ धारुणीका पदमबहादुर विष्टको घर पुरिएको हो ।
माथिबाट आएको पहिरोले विष्टको चारकोठे घर पुरिएको जनाइएकोे छ ।
पहिरोले मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।
घटनाबारे थप बुझ्नका लागि प्रहरीको टोली घटनास्थलतर्फ गएको र त्यसपछि मात्रै विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । घटनास्थल सदरमुकामबाट डेढ दिनको पैदल दूरीमा पर्दछ ।








