काठमाडाैं । नेकपा (एमाले)का सचिव भीमप्रसाद आचार्यले संविधान जारी गर्दाको बखतमा भएको सहमति अनुसार नेपाली काँग्रेस पनि सरकारमा आएर निर्वाचन सम्पन्न गराउनका लागि भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा नेता आचार्यले सरकारमा सहभागी गठबन्धन दलकै सहमतिमा मन्त्रिपरिषद्ले निर्वाचनको कार्यतालिका ल्याएको बताउँदै सहमति अनुसार काँग्रेस सरकारमा नआए प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै चुनाव गराउने
बताए । उनले भने– “संविधानसभाको दोस्रो निर्वाचनमा वैद्य नेतृत्वको माओवादी सहितका दलले बहिष्कार गर्दा पनि सफलतापूर्वक सम्पन्न भएको हो । अहिले पनि एकाधले बहिष्कार गर्दैमा निर्वाचन रोकिँदैन ।”
नेपाली कांग्रेसका नेता डा नारायण खड्काले आफ्नो पार्टी लोकतान्त्रिक भएकाले निर्वाचनको विपक्षमा नरहेको बताउँदै भूकम्पपीडित र मधेसका विषयलाई सम्बोधन गरी कांग्रेसलाई विश्वासमा लिएर अगाडि बढ्न सरकारलाई सुझाव दिनुभयो । उहाँले निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिए।
नेकपा (माओवादी केन्द्र)का नेता अमिक शेरचनले चुनावका लागि दलबीच सहमति आवश्यक रहेको विचार व्यक्त गर्दै सरकारले निर्वाचन घोषणा गरेपछि संसारमा अहिलेसम्म कतै पनि नरोकिएको उदाहरण प्रस्तुत गरे ।
तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेसी जनताको भावनालाई सम्बोधन हुने गरी संविधान संशोधन गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । “दलबीच सहमति नभएसम्म हुने चुनावको कुनै औचित्य हुँदैन, आफूहरु पनि त्यस्तो निर्वाचनमा सहभागी हुँदैनौ”, उनले भने ।








