असार २ । भक्तपुर, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका अर्थात एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भएको जानकारी दिँदै भने, “बिहीबार मध्याह्न बोर्ड बैठक आह्वान गरेका छौँ, प्राविधिक समस्या नआएमा बिहीबार अपराह्न ३ बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्छौैँ ।”
गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा यसवर्षदेखि अक्षराङ्क अर्थात ग्रेडिङ प्रणालीमा हुनेछ । परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पुरकतर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रक काप्रीले जानकारी दिए ।
नौ ग्रेडिङमा परीक्षाफल
एसएलसीको ८२ वर्षे इतिहासमा यस वर्षदेखि ग्रेडिङ पद्धति लागू भएको छ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिने परीक्षा नियन्त्रक काप्रीले जानकारी गराए । उनले ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको जानकारी दिए ।
नियमित, प्राविधिक र पुरक परीक्षामा संलग्न सबै विद्यार्थीको नतिजा अक्षराङ्क पद्धतिअनुसार प्रकाशन गरिने छ । पहिलो लेटर ग्रेडिङ र अन्तिम एसएलसी भएको कारण यो नतिजाप्रति धेरैको चासो रहेको छ ।
अघिल्ला वर्षहरु जस्तै एसएलसीको नतिजा वेवसाइट, एसएमएस र टेलिफोनबाट थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । www.moe.gov.no, wwww.doe.gov.np, www.soce.gov.np, www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, नेपाल टेलिकमको PSTN, CDMA, Postpaid, prepaid मार्फत १६०० नं. डायल गरि प्राप्त सन्देश अनुसार नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरि SMS बाट पनि नतिजा थाहा पाउन PSTN, CDMA, Postpaid, prepaid मोवाईल सेटको म्यासेजबक्समा गएर slc ˂space˃ सिम्वाेल नम्बर टाईप गरि १६०० मा एसएमएस पठाउने सकिनेछ । यस्तै ३५५६६ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिनेछ । परीक्षाफल सार्वजनिक हुने बित्तिकै उज्यालो अनलाइनबाट पनि नतिजा हेर्न मिल्नेछ ।









