काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले कांग्रेस केपी ओली नेतृत्वको सरकारमा कुनै हालतमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता निधिले जोड दिए, “अहिलेकै अवस्थामा हामी ओली नेतृत्वको सरकारमा जाँदैनौं, सरकार परिवर्तनवारे एमाले र माओवादी केन्द्रवीच जुहारी भैइरहेको छ, हामी रमाईलो हेर्दैछौं ।”
साक्षात्कारमा निधिले वर्तमान् सरकार भूकम्प पीडितहरुको स्थायी वसोवास र पूर्ननिर्माणमा पूर्ण रूपमा असफल भएको उल्लेख गर्दै अगाडि थपे, “यो सरकारले अहिलेसम्म पीडितहरुको लागि स्थायी बसोबास मिलाउन सकेन, दातृ निकाय सहयोग गर्न तयार छन् तर सरकार पुर्ननिर्माणमा असफल भयो ।” उनले पीडितहरुको लागि पठाउनुपर्ने पैसा समेत पठाउन सरकारले ढिलासुस्ती गरेको आरोप लगाए ।
नेता निधिले भुकम्प पीडितहरुको नामावली संकलन गर्न खटाईएको एनजीओ नै एमाले निकट रहेको उल्लेख गर्दै भने, “भूकम्प प्रभावित जिल्लामा एमालेले पक्षपात गरिरहेको छ, कांग्रेसका पीडित नेता तथा कार्यकर्तालाई छानीछानी नामावलीबाट बहिष्कार गरेको गुनासो आईरहेका छन् ।”








