युरोकपमा फ्रान्सको विजय सुरुवात, पयटको निर्णायक गोल

पेरिस । रोमानियालाई पराजित गर्दै आयोजक फ्रान्सले युरो कप २०१६ मा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई २–१ ले पराजित गर्दै सुखद सुरुवात गरेको हो । पेरिसस्थित फ्रान्सको राष्ट्रिय रंगशाला स्टेड डी फ्रान्समा घरेलु टोलीको जितमा दिमित्री पयटले निर्णायक गोल गरे ।
युरोकपमा राम्रो इतिहास भएको आयोजक फ्रान्सलाई रोमानियाले पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा भने फ्रान्सले सुरुवाती अग्रता लियो । खेलको ५७ औं मिनेटमा इन्ग्लिश क्लब आर्सनल ओलिभर जिरउडले गोल गर्दै घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाए । तर, त्यसको ८ मिनेटपछि नै रोनामियाले पेनाल्टीको अवसर पायो । आफ्नो डी एरियामा प्याट्रिकस इभ्राले रोमानियाका खेलाडी फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बोग्डान स्टानकुले बराबरी गोल फर्काए । तर, ८९ औं मिनेटमा वेष्ट ह्यामका पयटले ३० यार्डबाट सुन्दर गोल गर्दै फ्रान्सलाई जित दिलाए । त्यसअघि एन्टोनी ग्रिजम्यानले गरेको हेड गोल हुन सकेको थिएन । रोमानियाले पनि गोल गर्ने केही राम्रा मौका बनाएको थियो ।
रोमानियासंगको जितसंगै आयोजक फ्रान्सले युरोकपको उपाधिमा बलियो दाबेदार प्रस्तुत गर्न सफल भयो । घरेलु मैदानमा आयोजना हुने प्रतियोगितमा उपाधि आफ्नो पक्षमा पारेको फ्रान्ससंग इतिहास छ । त्यसैले रोमानियालाई पराजित गर्दै फ्रान्सले त्यसको सुरुवात गर्न सफल भयो । सन् १९८४ को युरो तथा १९९८ को विश्व कप फुटबल आयोजना गरेका फ्रान्सले उपाधि जितेको थियो ।
जितसंगै फ्रान्सले समुह ए मा ३ अंक जोडेको छ र, क्वाटरफाइनल सम्भावना बलियो बनाएको छ । फ्रान्सले अब समुह चरणको दोस्रो खेल असार १ गते अब्लानिया संग खेल्छ भने रोमानियाले असार ५ गते अब्लानियाकै सामना गर्ने छ ।
उद्घाटन खेलअघि स्टेड डी फ्रान्समा भव्य उद्घाटन गरिएको थियो । त्यसक्रममा फ्रान्सेली चर्चित डिजे डेभिड गुएट्टाको प्रस्तुति थियो । यस्तै फ्रान्सले आफ्नो राष्ट्रको मौलिकता झल्काउने विविध नृत्यहरुको प्रस्तुति गरिएको थियो । उद्घाटनको समय फ्रान्समा कडा सुरक्षा व्यवस्था समेत गरिएको थियो । गत नोभेम्बरमा आतंककारी हमलाबाट १ सय ३७ जनाको मृत्यु भएपछि फ्रान्सले युरोकपको लागी कडा सुरक्षा व्यवस्था गरेको हो ।
युरोकप अन्तर्गत आज तिन खेल हुदै छ । साझ हुने पहिलो खेलमा स्विजरल्याण्ड र अल्बानिया भिड्दै छन् भने राती हुने खेलमा वेल्सले स्लोभाकिया र इंग्ल्यान्डले रुसको सामना गर्दै छ ।

सम्बन्धित शिर्षकहरु