‘पुनर्लेखन र विगतका सहमति कार्यान्वयनको प्रतिवद्धता नभएसम्म वार्ता हुँदैन’

20141013interview-upendra-yadav-600x0काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान पुनर्लेखन र विगतमा गरिएका सम्झौता कार्यान्वयन गर्ने विषयमा ठोस राजनीतिक निर्णय नगरेसम्म वार्ता हुनै नसक्ने स्पष्ट पारेका छन ।

रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा उनले भने,“वार्ता गर्ने भए सरकार ठोस राजनीतिक निर्णयसहित आउनुपर्छ । संविधानको पुनर्लेखन गर्ने र विगतका सहमति कार्यान्वयन गर्ने राजनीतिक प्रतिबद्धतासहित सरकार वार्तामा आउनुपर्छ । नभए वार्ता सम्भव छैन ।”

अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पछिल्लो पटक वार्ता भंग गरेको आरोप लगाउँदै भने,“पुनर्लेखनसहितका विषयहरु गर्न सकिँदैन भनेपछि के को लागि वार्ता गर्ने ? अहिले सरकारले देश र दुनियाँलाई झुक्याउन वार्ता गर्न खोजिरहेको छ ।”

उनले संविधानमा रहेको विभेदपूर्ण र त्रुटिपूर्ण प्रावधानहरुलाई हटाएर अरु शब्द राख्ने विषय नै पुनर्लेखन भएको स्पष्ट पार्दै यो राजनीतिक विषय भएकोले यसमा राजनीतिक निर्णय गर्न सके मात्रै समस्याको समाधान हुन सक्ने दावी गरे ।

यादवले वार्ता टोलीका संयोजक कमल थापाले पहिलाकै वार्तामा आफूले विषय टुङग्याउन नसक्ने शिर्ष तहमै बार्ता गर्नुपर्छ भनेर आत्मसमर्पण गरिसकेपछि फेरि उनलाई नै अघि सार्नु सरकारको वार्ता नगर्ने नियत भएको आरोप लगाउँदै गणतन्त्र लगायतका मामिलामा थापाको विचार नै गलत भएकोले उनीसँगको वार्ताबाट कहिल्यै पनि निष्कर्षमा पुग्न नसकिने स्पष्ट पारे ।

यादवले विगतमा मधेस आन्दोलनलाई राष्ट्रियता खण्डित गर्ने, साम्प्रदायिकता, जातीय, क्षेत्रीय लगायतका आरोप लगाउने गरिए पनि अहिले हिमाल, पहाड र मधेस मिलेर आन्दोलन गर्दा त्यो भ्रम चिरिएको दावी गर्दै आफूहरुको आन्दोलन धार्मिक, सांस्कृतिक, जातीय सम्बन्ध मजबुद बताउने र भावनात्मक रुपमा राष्ट्रको एकता गर्न भएको बताए ।

सम्बन्धित शिर्षकहरु