उर्लाबारी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले भारतको इसारामा काँग्रेस सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन् ।
उर्लाबारीमा सोमबार पत्रकारसँगको कुराकानीमा उनले सरकार परिवर्तन गर्नु विपक्षीको धर्म भए पनि काँग्रेस भारत वा कुनै पनि देशको इसारामा सरकार परिवर्तनको खेलमा नलाग्ने प्रस्ट्याए।
मधेसकेन्द्रित दलको जायज मागलाई सम्बोधन गर्न संविधान संशोधन गर्न सकिने बताउँदै नेता डा कोइरालाले तर कुनै पनि हालतमा संविधान पुनर्लेखन भने हुन सक्दैन भने । नेपालमा अझै पनि ८५ प्रतिशत हिन्दू धर्मको पक्षमा रहे पनि संविधानमा धर्मनिरपेक्षता लेखेर दलहरुले जनताको अभिमतलाई बेबास्ता गरेको उनको भनाइ थियो ।
भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति असहमति जनाउँदै नेता डा कोइरालाले सरकारको सो निर्णय राजनीतिक प्रतिशोधको भावनाले गरिएको विचार व्यक्त गरे ।








