माहोली । दिल्ली डेयरडेभिल्सलाई पराजित गर्दै पुछारमा रहेको किंग्स इलाभेन पञ्जावले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा पञ्जावले दिल्ली डेयरडेभिल्सलाई ९ रनले पराजित गरेको हो ।
माहोलीस्थित पन्जाव क्रिकेट स्टेडियममा पञ्जावले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको दिल्लीले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ७२ रन बनायो । दिल्लीका लागी क्विन्टन डी ककले ५२, सन्जु सामसनले ४९ तथा करुण नाएरले २३ रन जोडेपनि जित निकाल्न सकेन । पञ्जावका मार्कस स्टोइनिसले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जावले निर्धा्रित २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १ सय ८१ रन बनायो । पंजावका लागि ऋद्धिमन साहाले ५२ तथा मार्कस स्टोइनिसले ५२ रनको योगदान दिए । यस्तै कप्तान मुरली विजयले २५ रन बनाए । दिल्लीका क्रिस मोरिसले दुई विकेट लिए ।
जितसंगै पञ्जाव ६ अंकसहित लिगको पुछारमा यथावत रहेको छ । पञ्जावले अहिलेसम्म ९ खेलमा तीनमा जित निकाल्दा ६ खेलमा हार बेहोरेको छ । यस्तै ९ खेलमा पाँचमा जित र चारमा पराजित भएको दिल्ली १० अंकसहित लिगको तेस्रो स्थानमा छ ।







