भूकम्पपीडित भेट्न अध्यक्ष दाहाल गोरखामा, पुनःनिर्माणमा सघाउने प्रतिबद्धता

Prachanda_2009गोरखा । पूर्वप्रधानमन्त्री एवम् (एमाओवादी)का अध्यक्ष पुष्पकमल दाहालले उत्तरी गोरखाका विभिन्न गाविस पुगेर भूकम्पपीडितको अवस्थाबारे जानकारी लिएका छन् ।
नेपाली सेनाको हेलिकप्टरमार्फत् आज गुम्दा पुगेका दाहालले पुनःनिर्माणलाई अनुदान वितरण कार्यक्रमको सुरुवात गरे । गुम्दा –८ की लाभग्राही माया गुरुङलाई अनुदान सम्झौतापत्र हस्तान्तरण गर्दै अध्यक्ष दाहालले भूकम्प प्रतिरोधी घर बनाउन आग्रह गरे ।

भूकम्प गएको एक वर्षसम्म पनि पुनःनिर्माणको काम सुरु नभएको भन्दै उहाँले अनुदान प्रक्रियाका लागि गाउँमै घुम्ती बैंक स्थापनाका लागि आफूले पहल गर्ने बताए ।

गाविस सचिव हरिबहादुर भुजेलले अनुदान वितरण प्रक्रिया गर्न ६६४ जना लाभग्राहीको नामावली मङ्गलबार सार्वजनिक गरेका थिए । सूचीमा नाम परेका लाभग्राहीले बैंक खाता खोलेपछि गाविस सचिवसँग सम्झौता गर्ने र बैंकमार्फत् रकम बुझेपछि पुनःनिर्माणको काम सुरु गर्नुपर्ने हुन्छ ।
सांसदहरु हितराज पाण्डे र कृष्ण धिताल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, पुनःनिर्माण प्राधिकरणका प्रतिनिधिसहित भूकम्प प्रभावित विभिन्न गाविस पुग्नुभएका अध्यक्ष दाहालले अलग्गिएका सबै माओवादी दललाई एकजुट गरी एमाओवादी देशकै ठूलो शक्ति बनाउने दाबी गरे ।

अध्यक्ष दाहालले आजै लाप्राक पुगेर खानेपानी आयोजनाको पनि शिलान्यास गरे । लाप्राकदेखि ६ किलोमिटर टाढा (गणेश हिमालको फेदी) बाट गुप्सीपाखामा खानेपानी ल्याउने योजना छ । भूकम्पपछि गुप्सीपाखामा ६०० अस्थायी टहरामा भूकम्पपीडित बस्दै आएका छन् । लाप्राक पुनःनिर्माणमा गैरआवासीय नेपाली सङ्घ (एनआएनए) ले सघाउने यसअघि नै सम्झौता भइसकेको छ ।

यस्तै दाहाल भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक पुगे । बारपाकमा उनले सामुदायिक भवनको शिलान्यास गरे ।
भूकम्पपीडित स्थानीयवासीले दाहाललाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन् । अध्यक्ष दाहाल आजै सौरपानी र मुच्चोक गाविसमा पुगेर लाभग्राहीलाई अनुदान सम्झौतापत्र हस्तान्तरण गर्ने र पुनःनिर्माण अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए। रासस

 

सम्बन्धित शिर्षकहरु