एक वर्षमा सरकारको काम सून्य

असनेपालन्युज विशेष रिपोर्ट
IMG_6250गोरखाको उत्तरी क्षेत्र बारपाक केन्द्रबिन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पको एक वर्ष पुगेको छ । गृहमन्त्रालयको तथ्यांकअनुसार भूकम्पमा ८ हजार ८८९ को ज्यान गयो । करिब नौ हजार प्रियजन गुमाउने गरी गएको विनासकारी भूकम्पले आज पनि हाम्रो मन मस्तिष्क हल्लाउन छोडेको छैन । त्यसो त बेला बखत गइरहने परकम्पले भूकम्पको त्रासदीलाई दूर हुन दिएको छैन ।

गृह मन्त्रालयको तथ्यांकअनुसार भूकम्पमा परी २५ लौं २३ हजार ६५६ घाइते बन्न पुगे । कयौं अंगभंग भए । कयाँ अझैै बेपत्ता छन् ।

पाँच लाख ३६ हजार ९४८ घरहरू बस्नै नमिल्नेगरी ध्वस्त भए । विपद्पछिको आवश्यकता आँकलन प्रतिवेदन (पीडीएनए) अनुसार ७ खर्ब ६ अर्ब बराबरको भौतिक संरचना खण्डहर बन्न पुगे । भूकम्पमा परी मरेर बाँचेकाहरुको बारीको पाटा, पाखा र सडकका किनारमा बास भएको छ ।

यसबीचमा सरकारले पाँच अर्ब रुपैयाँ भन्दा बढी रकम राहतमा बितरण गरिसकेको भए पनि पीडितको समस्या ज्यूँका त्यूँ छ ।
भूकम्पको एक वर्ष वित्दा पनि भूकम्प प्रभावित जिल्लाहरूमा पुनर्निर्माणको काम सुरू नै हुन सकेको छैन ।

गोरखा केन्द्र तर सिन्धुपाल्चोकमा क्षति
गोरखाको बारपामा केन्द्रबिन्दु परे पनि सबै भन्दा बढी क्षति सिन्धुपाल्चोकले बेहोर्यो । सिन्धुपाल्चोकमा मात्रै ३ हजार पाँच सय ७० को ज्यान गयो । जसमा ९३० पुरुष, १४ सय ८ महिला, पाँच सय ७७ बालक र ६५५ बालिका रहेको जिल्ला दैविप्रकोप तथा उद्धार समिति सिन्धुपाल्चोकले जनाएको छ । त्यस्तै ५८ अन्य जिल्लाका घुम्न आएकाको पनि सिन्धुपाल्चोकमै निधन भएको थियो । त्यस्तै जिल्लामा १ हजार ५६५ जना घाइते बनेका छन् ।

जिल्लामा रहेको ६६ हजार ४४८ घरधुरीमध्ये ६२ हजार १४५ घरधुरी पूर्ण रूपमा ध्वस्त भयो । यसैगरी सिन्धुपाल्चोकका ५४७ सामुदायिक र ३४ संस्थागत विद्यालय ध्वस्त भए । ७९ मध्ये ६१ स्वास्थ्यचौकी, ७९ गाविस भवन पूर्ण रुपमा भूकम्पमा स्वाहा भए । जिल्लामा रहेका ४१ सरकारी भवन, २८ प्रहरी चौकी पनि भग्नावशेषमा परिणत बने ।

भूकम्पको नौ महिनापछि बन्यो पुनर्निर्माण प्राधिकरण
पुनर्निर्माण ढिलाइ भएको भन्दै चौतर्फी आवाज उठेपनि ७२ मंसिर ३ गते मात्र पुनर्निर्माण प्राधिकरण गठन भयो भने पुस १० गते सरकारले प्राधिकरणको सीइओ नियुक्त गर्यो । यसबीचमा वैशाख १० गतेसम्म प्राधिकरणले अतिप्रभावित ११ जिल्लामा क्षति भएका ६ लाख ६८घरधुरीको सर्वेक्षण गरिसकेको जनाएको छ भने काठमाडौं उपत्यकाभित्रका तीन र जिल्ला र बाँकी १७ जिल्लामा पनि लगत  संकल गर्ने जानकारी दिएको छ ।

यस्तै यसअघि भूकम्पपीडित परिचयपत्रका आधारमा पूर्ण रूपमा घर क्षति भएका परिवारलाई अस्थायी आवास निर्माण गर्न १५ हजार रुपैयाँ र न्यानो लुगा कार्यक्रमअन्तर्गत १० हजार रुपैयाँ उपलव्ध गराएको थियो ।

फागुन ३० गतेदेखि हालसम्म काभ्रे, सिन्धुली, नुवाकोट, रामेछाप, ओखलढुंगा, रसुवा, गोरखा जिल्लामा गरी तीन हजार बढी धरधनीसँग अनुदान सम्झौता भइसकेको प्राधिकरणले बताएको छ ।

राहत कोषमा पाँच अर्ब
यसबीचमा प्रधानमन्त्री राहत कोषमा पाँच अर्ब १६ करोड ८५ लाख ३६ हजार रुपैयाँ जम्मा भएको छ भने पाँच अर्ब ५३ करोड १५ रुपैयाँ राहतका लागि निकासा गरेको छ।

वैदेशिक सहयोग
गत वर्ष असार १० गते भएको अन्तर्राष्ट्रिय दाता सम्मेलन पुनर्निर्माणका लागि रु ४ खर्ब ऋण र अनुदान सहयोग गर्ने प्रतिबद्धता आएको भए पनि हाल सम्म रु एक खर्ब ६० अर्बको मात्रै ऋण तथा अनुदान सम्झौता सम्पन्न भएको छ । दाता सम्मेलनमा भारतले १ खर्ब, चीनले ७७ अर्ब, अमेरिकाले १३ अर्ब, युरोपेली युनियनले ११ अर्ब, नर्बेले ३ अर्ब, एसियाली विकास बैंकले ६० अर्ब र विश्व बैंकले ५० अर्ब सहयोगको प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा रु २५ अर्ब र चीन भ्रमणका अवसरमा ५० अर्ब बराबरको अनुदान सम्झौता भएको प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणले गठन गरेको संरचनाअनुसार बजेट खर्च गर्न सम्बन्धि मन्त्रालयलाई ९ अर्ब रुपैयाँ खर्च गर्न अख्तियारी दियसकेको र अरु रकम निकासा गर्ने प्रक्रिया पनि सुरु गरिएको प्राधिकरणले बताएको छ ।
भूकम्पपछि खानेपानीको हाहाकार
भूकम्पपछि गोरखा, काभ्रे सिन्धुपाल्चोक लगायतका गाविसमाा खानेपानीको हाहाकार भएको छ । सिन्धुपाल्चोकको पश्चिमी र उत्तरी भेग, गोरखाको उत्तरी गाविसमा खानेपानीको समस्या देखिएको छ ।

भूकम्पले खानेपानीको मुहान सुकेको र खानेपानी ट्यांकी र पाइपलाइन बिग्रेकाले खानेपानीको समस्या देखिएको स्थानीयले बताएका छन् । भूकम्पको वर्षदिन वित्दा पनि सम्बन्धि निकायले मर्मत सम्भार नगरिदिएकाले आफूहरू मर्कामा परेको गुनासो पीडितहरूको छ ।

सम्पदा पुनर्निर्माणमा ढिलाइ
भूकम्पले उपत्यका मुख्य सम्पदाहरुमा क्षति पुर्याएको थियो । ती सम्पदाहरु वर्ष दिन पछि पनि उस्तै हालतमा छन् । केही सम्पदाहरुलाई दातृ निकायले मर्मतको लागि चासो देखाएको भएपनि पुनर्निर्माणले तदारुकता पाउन सकेको देखिँदैन ।

जर्मन विकास बैंक, नेपाल सरकार र भक्तपुर नगरपालिकाले भक्तपुरका १० वटा सम्पदा पुनर्निर्माण सुरु गरेको बताएका छन् । त्यस बाहेका काठमाडौं र ललितपुरका सम्पदाको अवस्था फेरिन सकेको छैन ।

सरकारले फागुन ५ गते मेरो धरहरा म बनाउँछु अभियान सुरु गर्दै जनताको पैसाबाट धरहरा बनाउने निर्णय गरेको भए पनि कोषमा जनताको खासै चासो देखिएन । र, कोषमा हालसम्म २० लाख रुपैयाँ मात्र रकम जम्मा हुन सकेको छ।

निर्णयको ११ महिना पनि कार्यान्वयन
वैशाख २५ गतेको मन्त्रिपरिषद्को बैठकले पीडितलाई घर बनाउन दुई लाख अनुदान दिने निर्णय गरेको भए पनि त्यसको ११ महिना पछि फागुनको अन्तिम साता प्राधिकरणले दोलखाका सिंगटीबजारमा अनुदानको पहिलो किस्ता बाड्न सुरु गर्यो । वैशाख को पहिलो साता सम्म हजार पीडितले पनि राहत पाएका छैनन् ।

‘सरकारले हामीलाई झन् पीडा दियो’

केही दिनअघि असनेपालन्युज प्रतिनिधि भूकम्पले क्षतविक्षत सिन्धुपाल्चोकको थकनी पुग्दा भीमप्रसाद खनाल भर्खर खण्डहर घरको जग खोतल्दै थिए । विनासकारी भूकम्पका कारण भत्किएको दुई वटाघरको ढुंगामाटो पन्छाएर जगैसम्म पुग्न झण्डै एक वर्ष लागेको उनले दुःखेसो पोखे ।

गाउँमा मानिस पनि नपाइने र भग्नावेशष पन्छाउन कसैले सहायता पनि नगरेकाले आफू एक्लै परेको उनको पीडा थियो । त्यसो त उनले भूकम्पमा ९७ वर्षीयामा आमा पनि गुमाए ।

“बृद्ध र अशक्त हुुनुहुन्थ्यो”, उनले भावुक हुँदै भने, “हामी सबै खेतमा थियौं, उहाँ भाग्दै पिँढीसम्म आइपुग्नु भएछ , त्यसपछि घरको बार्दली खसेर उहाँ पुरिनु भएछ ।”

दुईवटा घर भत्किएर एकैठाउँमा थुप्रिएकाले आमालाई भेट्टाउन दुई दिन लागेको उनले बताए । घर भत्किएपछि पाल टाँगेर बारीको पाटामा बसेको उनको ११ जनाको परिवार अहिले पनि त्यहीँ छ । केही संघसंस्थाले चामल, पाल, केही लत्ता कपडा सहयोग गरेको र सरकारको तर्फबाट एक पटक १० हजार र एकपटक १५ हजार गरी २५ हजार पाएको बताए ।
“सामान्य टहरा बनाएका छौं”, उनले भने, “जाडोमा शीत चुहियो र सुत्नै सकिएन । गर्मीमा पनि उखर्मौलो गर्मी हुँदो रहेछ ।”
अन्नपात र भएको लुगाफाटो भूकम्पले पुरिएपछि आफू सुकुम्बासी जस्तै हुनुपरेको बताउँदै उनले भने, “अब घर कसरी बनाउने भन्ने चिन्ता छ ।”

बर्षा लाग्न आँटिसकेको र अन्नपात थन्क्याउने बेला भएकाले कहाँ बस्ने भन्ने समस्याले गाँजेको भन्दै उनले अगाडि थपे, “सरकारले झन् पीडामा पीडा थप्यो, छिट्टै बस्ने बास बनाउन सहयोग गरे हुन्थ्यो ।”

त्यस्तै राजन खनालको पीडा पनि त्यो भन्दा कम छैन । भूकम्पले घर भत्कँदा उनको पनि आमा बितिन् । ६ वर्षकी छोरी गम्भीर घाइते भइन् । त्यो पीडा त छँदैछ । अर्को पीडाले सताएको छ, घर कसरी बनाउने ?

सरकारले घर बनाउन सहयोग नगरे यो बर्षा पनि बारीको पाटामै बिताउनु पर्ने उनले दुःखेसो पोखे । “सरकारले प्राथमिकता निर्धारण गरेर घर बनाउन सहयोग गर्नुपर्छ”, उनले भने, “कसैले नक्कली परिचयपत्र बनाएका छन् भने त्यसलाई छानबिन गर्नुपर्छ। तर, त्यसैको बहानामा सक्कलीलाई पनि पीडित तुल्याउनु हुँदैन ।”

नक्कली परिचयपत्र बनाएर राहत लिनेको संख्या बढेकाले आफूहरूले राहत नपाएको गुनासो उनको छ । “सरकारले परिचयपत्र बनाउने बेलामा नै एउटा मापदण्ड बनाउनु पर्थ्यो । त्यो गर्न सरकार असमर्थ रह्यो । अहिले आएर पीडितको संख्या बढ्यो या घरधुरी थपिए भन्नुको कुनै अर्थ छैन”, उनले आक्रोस पोखे ।

त्यस्तै शिव खनालले पनि भूकम्पबाट घरबार गुमाएका र आफन्त गुमाएकाहरूलाई सरकाले अविलम्ब सहयोग गर्नुपर्ने जिरह प्रस्तुत गरे । “अब पीडितहरूलाई यो वा त्यो बहानामा सहयोग पाउनबाट रोक्नुहुँदैन”, उनले भने, भूकम्पले त पीडा दियो दियो सरकारले थप पीडित बनाउनु हुँदैन।”

भूकम्पबाट झण्डै ३५ सय मानिस गुमाएको सिन्धुपाल्चोक अझै तंग्रिन सकेको छैन । भग्नावेशहरू जस्ताको तस्तै छन् भने पीडितहरूको पीडा दूर हुने कुनै छाँटकाँट छैन । भूकम्पपछि जति पराकम्प गए आधाभन्दा बढीको केन्द्र सिन्धुपाल्चोक नै परेकाले त्यहाँको जमिन पूरै थिल्थिलो छ । त्यो भन्दा बढी त्यहाँका मानिसहरूको मन भत्किएको छ । आँत चिरा परेको छ । त्यसमाथि सरकारले राहत र सेवा सुविधा समयमै उपलव्ध नपाउँदा पीडितहरू झन् आहत बन्न पुगेको देखिन्छ । त्यसो त भूकम्पपछि सिन्धुपाल्चोकको पुनर्निर्माण र त्यहाँका पीडिको लागि काम गर्न झण्डै दर्जन संघसंस्था सिन्धुपाल्चोक पुगे । तिनैले करोडौं रकम खर्च पनि गरेका छन् तर भत्किएका स्कूल उठ्न सकेका छैनन्, खण्डहर घरहरू उस्तै छन्, स्वास्थ्य चौकीहरूको ढुंगामाटो हटाइएको छैन ।

सम्बन्धित शिर्षकहरु