काठमाडौं। कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त महान्यायाधीवक्ता हरि फुयाँललाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।
राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज कामु प्रधानन्यायाधीश कार्कीले फुयाँललाई सपथ ग्रहण गराएकी हुन् ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेल, नेपाल बार एसोसिएसनका नवनियुक्त अध्यक्ष शेरबहादुर केसीलगायत कानुन व्यवसायीको उपस्थिति रहेको थियो ।
सरकारको कानुनी सल्लाहकारका रूपमा रहने महान्यायाधीवक्तालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । आइतबार प्रधानमन्त्री ओलीले फुयाँललाई महान्यायाधीवक्तामा नियुक्तिको सिफारिस गरेपछि राष्ट्रपतिले उनलाई नियुक्त गरेकी हुन्।
यसअघिका महान्यायाधीवक्ता हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेपछि उक्त पद रिक्त रहेको थियो ।
फौजदारी न्याय प्रणाली र मानवअधिकार कानुनमा विशेषज्ञता हासिल गरेका फुयाँल २५ वर्षदेखि कानुन व्यवसायीका रूपमा क्रियाशील छन्। उनीसँग संयुक्त राष्ट्रसङ्घमा काम गरेको अनुभवसमेत छ ।
मोरङको राजघाट गाविसमा विसं २०२७ मा जन्मिनुभएका फुयाँलले मोरङकै जनसेवा माविबाट एसएलसी उत्तीर्ण गरेका थिए।
धरानको महेन्द्र क्याम्पसबाट आइएल, नेपाल ल क्याम्पस, काठमाडौँबाट विएल तथा भारतको नेशनल ल स्कुल, बैङ्लोरबाट एलएलएम गरेका थिए। त्यस्तै, अर्को एलएलएम भने उहाँले बेलायतबाट गरेका थिए ।








