पुनःनिर्माणलाई गति दिन प्रमलाई आग्रह

kp-sharma-oli-nepal-pmकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्पपछिको पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटवार्ता गरी भूकम्प गएको एक वर्ष पूरा हुँदासमेत भूकम्पप्रभावित क्षेत्रमा पुनःनिर्माणको काम अगाडि बढ्न नसक्दा जनतामा निरासा फैलिएको भन्दै प्रक्रियालाई गति दिन आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संविधान कार्यान्वयन, आपूर्ति व्यवस्थामा देखिएको अव्यवस्था तथा नागरिकको कष्टकर जीवनलाई सहज बनाउन सरकारले गर्न सक्ने काम पनि नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेता पौडेलले जानकारी दिए ।

संविधान निर्माण प्रक्रियादेखि नै असन्तुष्टि जनाउँदै आएका मधेसवादी दललाई समेत सहमतिमा ल्याउन तथा संविधान कार्यान्वयन प्रक्रियालाई गति दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको उनको भनाइ छ ।

नेता पौडेलको आग्रहलाई गम्भीरतापूर्वक लिँदै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न काँग्रेसलाई आग्रह गरेका थिए।

भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई राहत दिने प्रक्रिया सुरु गरेको, वैशाख महिनाभित्रै राहत तथा अनुदान वितरण प्रक्रिया लगभग सम्पन्न हुने जानकारी प्रधानमन्त्री ओलीले गराएका थिए।

संविधान कार्यान्वयन प्रक्रियामा प्रमुख दलबीचको सहमति आवश्यक रहेको भन्दै नेता पौडेलले आइतबारदेखि भेटवार्ता थालेका हुन्। आइतबार उनले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरी संविधानको सहज कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा कुराकानी गरेका थिए ।

सम्बन्धित शिर्षकहरु