नेपाल र नामिबियाबीच दोस्रो खेल सुरु, प्रधानमन्त्री सरिक (लाइभ खेल यहाँ हेर्नुहोस्)

pm oliकाठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेपाल र नामिबियाबीचको दोस्रो खेल सुरु भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेको नेपालले फिल्डिङ रोजेको छ । नेपाली खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही विशिष्ट व्यक्ति खेलस्थलमा सहभागी छन् ।

त्यस्तै, मैदानमा करिब १५ हजार दर्शक उपस्थित भइसकेका छन् भने दर्शक आउने क्रम जारी छ । धेरै दर्शक हातमा राष्ट्रिय झन्डा बोकेर नेपाल ,नेपाल भनेर चिच्याइरहेका छन् ।

नेपाली टोलीमा आज एक परिर्वतन भएको छ । राजु रिजालको स्थानमा सागर पुनलाई ल्याइएको छ । राजु ‘प्लेइन ११’ मा नपरेपछि विकेटकिपरको भूमिका भने अब विनोद भण्डारीले निभाउने छन् ।

आज नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, सोमपाल कामी, विनोद भण्डारी, राजेश पुलामी मगर, सागर पुन, नरेश बुढाएर र सन्दीप लामिछाने छन् ।

प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटले पराजित गरेको थियो । जितसँगै सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप क्रिकेट छनोटमा सहभागिता जनाउने नेपालको सपना जीवितै छ ।

यदि आजको खेलमा नेपालले नामिबियालाई पराजित गर्न सकेमा नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो हुनेछ । सहभागी विभिन्न आठ टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्ने मौका पाउने छन् ।

गत वर्ष खेलेका आफ्ना सबै चार खेलमा निरासाजनक नतिजा ल्याएको नेपालले पहिलो चरणका दुवै खेलमा स्कटल्यान्ड र दोस्रो चरणमा पपुवा न्युगिनीसँग पराजय भोगेको थियो । नेपालले शनिबारको जितसँगै जारी प्रतियोगितामा दुई अङ्क जोडेको छ । त्यस्तै नामिबियाको पनि एक जितका साथ समान दुई अङ्क नै छ ।

एक दिवसीय खेलमा भने नेपाल र नामिबिया यसअघि दुई पटक भिड्ेका छन् । गत वर्ष नामिबियामै भएको आइसिसी विश्व लिग क्रिकेट ‘डिभिजन–टु ’मा नेपालले घरेलु टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको थियो भने सन् २००१ मा क्यानाडामा भएको आइसिसी ट्रफीको समूह चरणको खेलमा नेपाल पराजित भएको थियो ।

सम्बन्धित शिर्षकहरु