बार र बेन्चबीचको समस्या समाधान गर्नेछु : नवनिर्वाचित अध्यक्ष अध्यक्ष केसी

kcकाठमाडौं । नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष शेरबहादुर केसीले बार र बेन्चबीचको विवाद मिलाउन आफूले विशेष पहल गर्ने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नवनिर्वाचित अध्यक्ष केसीले बार र बेन्चबीचको सम्बन्धमा समस्या रहेकोले त्यसलाई सुधार गर्न आफूले पहल गर्ने बताएका हुन् । उनले भने, “विगतमा बार निस्क्रिय थियो, अब यसलाई सक्रिय बनाउन हामी पहल गछौं, बारको नयाँ कार्यक्रम समेत अब छिट्टै सार्वजनिक गर्छौं ।”

साक्षात्कारमा अध्यक्ष केसीले न्यायपरिषद्लाई पूर्णता दिने, सर्वोच्चको न्यायधिश नियुक्तिवारे देखिएको विवाद सुल्झाउन सुझाव दिने, व्यवसायिक दायरालाई फराकिलो बनाउन विशेष पहल कदमी लिने लगायतका नयाँ कार्यक्रमहरु समेत छिट्टै सार्वजनिक गर्ने बताए ।

बारलाई राजनीतिक छायाँबाट मुक्ती दिलाउन समेत आफूले विशेष पहल गर्ने केसीले प्रतिबद्धता व्यक्त गरे । उनले भने, “हिजो निर्वाचनको दिनसम्म राजनीतिक रुपमा हामी विभाजित भयौं, अब बारलाई यसबाट मुक्त बनाउनुपर्छ, यो सबैको दायित्व पनि हो, र बार बेन्चप्रति सहयोगी भावनाका साथ अघि बढ्छौ र बेन्चले पनि सहयोगी भावना राख्नुपर्छ ।”
अब बन्ने प्रधानन्यायधीश सुशिला कार्की पनि बारलाई बुझेको व्यक्ति भएकाले नयाँ वर्ष बार र बेन्चको सम्बन्ध सुदृढ गर्ने वर्षको रुपमा रहने समेत उनले विश्वास व्यक्त गरे । केसीले सरकारलाई सहयोग पु¥याउन बारले सहयोगी भूमिका निर्वाह गर्ने समेत जानकारी दिए ।
संविधानप्रति असन्तुष्टि राख्दै आन्दोलनमा होमिएको मधेशी दलले न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको कुरामा समेत सरकारको ध्यानाकार्षण गराउन बार लागिपर्ने उनले बताए । उनले भने, “मधेशको समस्या सरकारले तत्काल हल गरोस्, मधेशका मागलाई मिल्छ भने संशोधनमार्फत सम्बोधन गरियोस् ।”

कार्यक्रममा उपाध्यक्ष उषा पाठक मल्लले अबको बार सबैको साझा हुने बताउँदै पेशागत हकहित र क्षमता अभिवृद्धिमा आफ्नो नेतृत्व केन्द्रित हुने धारणा राखिन् । उनले भनिन्,‘बार अब राजनीतिबाट मुक्त हुनेछ, संविधान कार्यान्वयनमा बारको सशक्त भूमिका निर्वाह गर्न हामी पहल गछौं ।’

त्यस्तै अर्का उपध्यक्ष मोतीराज गौतमले न्यायलयप्रतिको विकृति र विसँगतिलाई अन्त्य गर्न बारले सदैव खबरदारी गर्ने बताए । निर्वाचनका क्रममा सार्वजनिक गरिएका प्रतिबद्धतालाई क्रमशः लागु गर्दै लाने समेत जानकारी दिए ।

उनले भने,‘‘हिजो निर्वाचनको क्रममा हामी विभाजित थियौं, निर्वाचनपछि गुट सकियो, अब कुनै विचार विशेषले बारमा स्थान पाउँदैन् ।’’ उनले सबै कानुनव्यवसायीहरुलाई समान व्यवहार गरेर अघि बढ्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

महासचिव खम्बबहादुर खातीले संविधान कार्यन्वयन गराउन बारले विशेष किसिमको कार्ययोजना सार्वजनिक गर्ने बताए । खातीले पनि बार र बेन्चको सम्बन्ध बिग्रिएको बताउँदै यसलाई सुधार गर्नुपर्ने बारको प्रमुख दायित्व रहेको बताए । उनले भने,‘हामी तत्काल सम्वाद थाल्छौं ।’

विगतमा भएका ऐतिहासिक राजनीतिक परिवर्तनमा बारले अग्रणी भूमिका निर्वाह गरेको स्मरण गर्दै अब पनि बारले त्यस्तै सशक्त भूमिका निवार्ह गर्ने उद्घोष गरे । उनले बार सरकारको प्रतिपक्षीको भूमिका निवार्ह गर्न तयार रहेको बताए ।

बारका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई रिपोर्टर्स क्लब नेपालको तर्फबाट अध्यक्ष ऋषि धमलाले बधाई तथा अभिनन्दन गरेका थिए । धमलाले अध्यक्ष शेरबहादुर केसी, उपाध्यक्षद्धय उषा पाठक मल्ल, मोतीराज गौतम, महासचिव खम्ब बहादुर खाती र केन्द्रिय सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

अध्यक्ष धमलाले बारले नेपालमा विधिको शासन, मानव अधिकारको रक्षा र प्रेस स्वतन्त्रताप्रति सदैव अग्रणि भूमिका निवार्ह गर्न सुझाव दिए ।

सम्बन्धित शिर्षकहरु