काठमाडौं ।नेपाल बार एशोसियसनको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार अध्यक्षका प्रत्यासी शेरबहादुर केसीले ९ सय ४८ मतका साथ अग्रता लिएका छन्। प्रत्यासी विजयकान्त मैनालीले ८ सय ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
महासचिवमा केसी प्यानलका खम्बबहादुर खातीले ८ सय ८२ र मैनाली प्यानलका दिनमणी पोखरेलले ८ सय ९ मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्षमा पनि केसी प्यानलका ज्ञानरत्न शाक्य ८ सय ८८ मतका साथ अग्रस्थानमा छन्। मैनाली प्यानलका हरी बहादुर खड्काले ७ सय ८१ मत प्राप्त गरेका छन् ।
मुलुकभर ३३ केन्द्रमा गत शनिबार भएको निर्वाचनमा ७ हजार ८ सय ४५ जनाले मतदान गरेका थिए । पदाधिकारी सहित २५ जनाको नयाँ कार्यसमितिका लागि ७१ जना चुनावी प्रतिष्पर्धा छन् । अध्यक्षका लागि चार जना चुनावी मैदानमा छन् ।
यसैबीच, मतपरिणाम भोलीसम्म सार्वजनिक गर्न निर्वाचन समितिले मतगणना केन्द्र थप गरेको छ । ८ वटा मतगणना केन्द्र रहेकोमा ४ वटा थप गरि १२ वटाबाट मतगणना शुरु गरिएको प्रमुख निर्वाचन अधिकृत हरी शंकर निरौलाले जानकारी दिए । निर्वाचन समितिले भोली साँझसम्म मतगणना सकिने जनाएको छ ।








