काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेड युनियन अधिकारका नाममा कर्मचारीहरु अराजक र अनुशासनहीन बनेको आरोप लगाएका छन् । कर्मचारीहरु जिम्मेवारी र कर्तव्यबाट विमुख हुँदै गएकाले कर्मचारी संगठनका गतिविधि राजनीतिक एजेण्डा बनेको बताए ।
पार्टी निकट राष्ट्रिय कर्मचारी संगठन पशुपति क्षेत्र विकास कोष एकाइको चौथो अधिवेशन उदघाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले ट्रेड युनियन अधिकारका नाममा कर्मचारीहरु अराजक र अनुशासनहीन बन्दै गइ सेवा प्रवाह नै प्रभावित बन्न थालेको बताए ।
जनतालाई प्रभावकारी सेवा दिने तथा आर्थिक अनुशासन कायम राख्नेतर्फ कर्मचारी संगठनले भूमिका निर्वाह नगरेको उनले आरोप लगाए ।
एमाओवादी अध्यक्ष प्रचण्डले संविधान जारी भएसँगै सबैका हक अधिकार सुनिश्चित भइसकेकाले अब कसैले पनि आन्दोलन गर्न आवश्यक नरहेको बताए । उनले संविधान कार्यान्वयनका लागि सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए ।








