रसुवा, बिहान ६ बजेदेखिको हावाहुरीका कारण रसुवाको जनजीवन प्रभावित बन्न पुगेको छ । खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयको २ ओटै पाल हुरीले उडाउँदा कयौं कागजपत्र उडाएर यत्रतत्र भएको छ ।
त्यस्तै जिल्ला कारागार शाखाको जेलर बस्ने कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । प्लाइउडदेखि जस्तापाता उडाएपछि जेलर समेत त्रसित भएका छन । तीव्र गतिले चलेको हावाहुरीले भूकम्प पीडितको कयौं पाल उडाउँदा पीडितहरू विचल्लीमा परेका छन । हाकु गाविसबाट विस्थापित भएका पीडित सबैभन्दा मर्कामा परेका छन ।
“जसोतसो त्रिपालमा कष्टकर जीवन बिताउँदै आएका हामी अब त बाँच्दैनौं जस्तो लाग्न थालेको छ”, पीडित उत्तम तामाङले भने । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले दिएको जानकारी अनुसार हालसम्म मानवीय क्षतिको विवरण भने आएको छैन ।
त्यसैगरी सदरमुकाममा सञ्चालित नमुना इभरग्रिन बोर्डिङ स्कुल, गत्लाङ गाविसको ग्रे निमाविको ५ ओटा अस्थायी सिकाई केन्द्र, कोमिन प्रावि स्याफ्रुको विद्यालय लगायतको छाना उडाएको छ । यस्तै स्याफ्रु गाविसको एउटा घरमा आगलागि भएकोमा गाँउलेले आगो नियन्त्रणमा लिएको बताइएको छ । आगलागीबाट दुई ओटा जस्ताको टहरामा पूर्णरूपमा क्षति पुगेको छ । सदरमुकाम धुन्चेमा रहेको नेपाली सेनाको नारायण दल गणको गणपति बिक्रम गुरूङको नेतृत्वमा सदरमुकाममा सेना परिचालन भएको छ ।
यसैबीच आज बिहानदेखि चलेको हावाहुरी र हिजो बिहानदेखि लागेको डडेलोको विषयमा छलफल गर्न जिल्ला दैवि प्रकोप उद्धार समितिको आपतकालिन बैठक अहिले बिहान ११ बजे बस्न लागेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
हिजो बिहानदेखि हाकुको सामुदायिक वन क्षेत्रमा लागेको डडेलो हावाहुरीका कारण झन फैलँदै गएको छ । भिरालो जमिन भएको कारण डडेलो नियन्त्रणको प्रयास गर्न सकिएको छैन । सामुदायिक वन क्षेत्रको सयौ हेक्टर क्षेत्रफलमा सयौंको सङ्ख्यामा वन्यजन्तु तथा रूख जलेको बताइएको छ ।
अनु आचार्यको सहयोगमा








