फागुन १५ । बाँके, कालिकोटमा शुक्रबार काष्ठमण्डप एयरलाइन्सको जहाज दुर्घटना हुँदा घाइते भएका ९ जना मध्ये दुई जनालाई थप उपचारका लागि भारत लगिएको छ ।
जुम्ला चन्दननाथ–६ की लक्ष्मी सुनार र पद्मारा–७ का लक्ष्मण खड्कालाई थप उपचारको लागि भारतको लखनउ लगिएको हो । घाइतेमध्ये तीनको शिक्षण अस्पताल नेपालगन्ज र चार जनाको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घाइते हुनेमा चन्दननाथ–६ का ३५ वर्षका मेघराज गिरी, २५ वर्षकी जगदम्बा खत्री गिरी र उहाँका छोरा अनिल गिरी, चन्दननाथ–७ का ३७ वर्षका गणेश भट्टचन, १६ वर्षकी सोनाली भट्टचन, चन्दननाथ–५ का ३१ वर्षका धनन्जय खत्री र नुवाकोटको थानसिङ–३ का ध्रुवप्रसाद भण्डारी छन् ।
शुक्रबार दिउँसो नेपालगञ्जबाट जुम्लाका लागि उडेको नाइन एन एजेबी कल साइन भएको टुइनअटर विमान आकस्मिक अवतरण गर्ने क्रममा कालिकोटको चिल्खायामा दुर्घटना हुँदा चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको ज्यान गएको थियो । उनीहरुले आफ्नो ज्यान गुमाएर भएपनि यात्रुलाई बचाए । न्यौपाने र रानाको शव पोष्टमार्टमको लागि काठमाडौं ल्याइएको छ ।








