भारत र चीनको विकासबाट लाभ लिन चाहन्छौं: प्रधानमन्त्री ओली

Narendra-Modi-K-P-Oliनयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारत र चीन दुबै देशको तीव्र आर्थिक विकासबाट लाभ लिएर अघि बढ्ने चाहेको बताएका छन् ।

आफ्नो राजकीय भ्रमणको चौथो दिन नयाँ दिल्लीको भारतीय विश्व मामिला परिषद्द्वारा सप्रु भवनमा आयोजित २१औँ प्रवचन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “विकसित भारत र चीन दुवै छिमेकी मुलुकसँग विकासका लागि नेपालले परिणाममुखी साझेदारी गर्न चाहेको छ” उनले भने, “यसमा हामी स्पष्ट छौँ नेपालको माटोमा कोहीविरुद्ध कोहीलाई दुरुपयोग हुन दिने छैनौँ । भारतको सुरक्षा चासो र ऊसँगको लामो मित्रतालाई पनि ध्यानमा राखेका छौँ ।”

उनले संविधानले नेपाली जनताका विविधतायुक्त चाहना र भावनालाई सम्बोधन गरेको र संविधान जारी भएसँगै एक ऐतिहासिक रजनीतिक कार्यभार पूरा भएको बताए । उनले भने – “संविधान एकाएक जारी गरिएको नभई छलफल र लोकतान्त्रिक प्रक्रियाका आधारमा ल्याइएको हो । यसमा सबै विश्व समुदायको चासो र उत्सुकता थियो । हामीले त्यस भावनाको पनि कदर गरेका छौँ ।”

“संविधानसभाले सबै समुदाय र पक्षसँग छलफल र संवाद तथा सहमतिको प्रक्रियाबाट ९० प्रतिशत सभासद्को मतबाट संविधान बनाएको हो । यसमा सबै पक्ष सबै बुँदामा सहमति नहुन पनि सक्छन् । संविधानले सबै मौलिक अधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ । त्यसकारण यो संविधान नमुनायोग्य र प्रगतिशील छ,” प्रधानमन्त्रीले भने – “संविधानले नागरिकता, रोजगारीको अवसर, समावेशीता, सामाजिक न्याय, समता र लोकतन्त्रजस्ता सवालमा कुनै समुदायलाई विभेद गरेको छैन, बरु पछाडि पारिएका समुदायलाई आरक्षणको पनि व्यवस्था गरेको छ ।”

उनले नयाँ संविधानअनुसार मुलुकमा महिला समुदायबाट राष्ट्रपति र सभामुखसमेत निर्वा्चित भइसकेको उल्लेख गर्दै सङ्घीयताको सीमासम्बन्धी सवाल हेर्न संविधानले सङ्घीय आयोगको व्यवस्था गरेको जानकारी गराए ।

संविधानसँगै नेपालले लामो समयदेखिको सङ्क्रमणकालको अन्त्य गराएकोमा विश्व समुदाय र भारत सरकारले यसलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएकोमा प्रम ओलीले आभार पनि व्यक्त गरे ।

संविधान आएसँगै राजनीतिक स्थिरता र मुलुकको आर्थिक विकासमा लाग्नु नेपालको मुख्य प्राथमिकताको विषय भएकाले नजिकको छिमेकी र महत्वपूर्ण विकास साझेदार भारतसँग परम्परागत र लामो सम्बन्ध रहेकाले आपसी सम्बन्धलाई कुनै सम्झौता वा दस्तावेजमा सीमित नराखी भावनात्मक आधारमा पनि हेर्नुपर्ने बताए ।

उनले भने –“हामीहरु एकापसमा विश्वास, सम्मान, सार्वभौमसत्ता, स्वच्छ मैत्री सम्बन्ध र समृद्धिको मार्गदर्शनमा अघि बढेका छौँ । यो सम्बन्ध सरकार सरकारमा मात्र नभई जनता जनतामा पनि जोडिएको छ । त्यसैले आपसी सम्बन्ध विस्तार र सुरक्षाका सवालमा हामी संवेदनशील छौँ ।”

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटमा दुई देशबीच पछिल्ला समयमा देखिएको तिक्तता र असमझदारी हटाउने प्रयास गरिएको र आगामी दिनमा त्यस्ता असमझदारी नरहने विश्वास व्यक्त गरे ।

भारतको आर्थिक तथा विज्ञान, प्रविधिको क्षेत्रमा भएको विकासलाई पछ्याउनुपर्ने उल्लेख गर्दै उहाँले भूकम्पपछिको अवस्थामा भएको भारतीय सहयोगको प्रशंसा गरे ।

दुवै देशका जनताका बृहद् लक्ष्य प्राप्तिका लागि आपसी समन्वय र सहयोगमा जोड दिँदै उनले जलस्रोत, ऊर्जा, व्यापार, पारवहन, कनेक्टिभिटी, सांस्कृतिक सम्पदा र सभ्यताका क्षेत्रमा अग्रगामी र प्रगतिशील दृष्टिकोणका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले संविधानमा आफ्नो पार्टीको पनि केही विषयमा फरक मत रहेपनि दुई तिहाइले पारित गरेकाले त्यसलाई ग्रहण गरेको भन्दै नयाँ संविधानले सबै समुदायलाई समेटेको बताए । उनले कतिपय गलत बुझाइका कारण संविधान जारीपछि नेपाल र भारतबीचको सम्बन्धमा तिक्तता आएपनि प्रधानमन्त्री ओलीको भ्रमणबाट अस्पष्टता हटेको बताए ।

कार्यक्रममा भ्रमण दलका अन्य सदस्य, भारतका कूटनीतिज्ञ, बुद्धिजीवी र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।

होटल ताजमा जन्म दिन मनाए

भ्रमणमा रहेका प्रधानमन्त्री ओली जन्मदिन रहेकाले आज भारतस्थित होटल ताजमा व्यापारिक समुदायको अन्तक्र्रियासँगै जन्मदिन पनि मनाइएको छ । परिषद्को कार्यक्रममा सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिँदै उनको सु–स्वास्थ्य र नेपालको सेवामा सफलताको कामना पनि गरे ।

सम्बन्धित शिर्षकहरु