फागुन १० । काठमाडौं, ब्रेक फेल भएको माइक्रोबसले किच्दा महाराजगन्जमा दुई चिकित्सकको मृत्यु भएको छ । सडकमा हिँडिरेको अवस्थामा शिक्षण अस्पतालका चिकित्सकद्वय डा. सञ्जय सुवेदी र डा. सनी आनन्दको मृत्यु भएको हो ।
आइतबार साँझ पौने ५ बजे कान्ति बाल अस्पताल र शिक्षण अस्पतालबीचको सडकबाट बसुन्धारातर्फ गइरहेको बा१प ४३ नम्बरको माइक्रोबसको ब्रेक फेल हुँदा घरमा ठोकिन पुगेको थियो । घरमा ठोकिएपछि पनि माइक्रोबस दायाँतर्फ एक्कासि मोडिँदा सडकमा हिँडिरहेका दुई चिकित्सकलाई किचेको हो ।
माइक्रोबसमा रहेकी आठवर्षीया विद्यार्थी अस्मिता ज्ञवाली पनि घाइते भएकी छन् । बसका चालक अर्जुन सेवालाई प्रहरीले पक्राउ गरेको छ । ब्रेक फेल भएपछि आफूले गाडी नियन्त्रणमा लिन नसकेको चालक सेवाले बताएका छन् । उनलाई थुनामा राखेर अनुसन्धान अघि बढाइएको महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगन्जका इन्स्पेक्टर बालकृष्ण पोखरेलले जानकारी दिए ।
प्युठान घर भएका डा. सुवेदी र भारतको बिहार घर भएका डा. आनन्द त्रिवि शिक्षण अस्पतालमा एमडी अध्ययनरत थिए । पर्यटक बोक्ने हरियो नम्बर प्लेटको माइक्रोबसले बानेश्वरस्थित पिन्धारे विद्यासंसार स्कुलका विद्यार्थी बोकेको थियो । नयाँ पत्रिका ।








