फागुन ४ । काठमाडौँ, नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले १२औँ दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा स्वर्णपदक विजेता नेपाली टिमलाई बधाई तथा शुभकामना दिएका छन्।
कावा सभापति पौडेलले मंगलबार एक विज्ञप्ति जारी गरी साग खेलकुदमा २३ वर्षपछि प्राप्त जितले नेपालको शिर उँचो बनाएको भन्दै खेलाडी, प्रशिक्षक एवम् खेलसँग सम्बन्धित सबै सरोकारवाला पक्षलाई आफ्नो व्यक्तिगततर्फबाट र कांग्रेस पार्टीका तर्फबाट बधाई ज्ञापन गरेका छन् ।
उनले सागको महिला फुटबल टिम पनि फाइनलसम्म पुग्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा अझै राम्रो हुँदै जाने अपेक्षा गरेका छन्। विज्ञप्तिमा सागमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई पनि बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
सोमबार नेपाल र भारतबीच भएको पुरुषतर्फको फुटबलमा नेपालले भारतलाई २–१ ले पराजित गर्दै स्वर्ण पदक हात पारेको थियो ।
यसैगरी, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि आज एक शुभकामना सन्देश दिँदै खेलाडी र तिनका प्रशिक्षकले देखाएको प्रतिभाले राष्ट्रलाई नै गौरवान्वित बनाएको बताएका छन् ।
तेइस वर्षपछि फुटबलमा स्वर्ण जितेर नेपाली युवा टोलीले नेपालको प्रतिष्ठा बढाएको बताउँदै उनले हिजोको विजयले भविष्यमा अरु ठूला उपलब्धि हासिल गर्न सकिन्छ भन्ने भरोसा जगाएको उल्लेख गरेका छन् ।
वरिष्ठ नेता देउवाले सागका अन्य खेलमा पनि स्वर्ण, रजत तथा कास्यलगायत पदक जित्ने खेलाडीहरुलाई पनि बधाई तथा शुभकामना व्यक्त गरेका छन्।








