फागुन ४ । भक्तपुर, घरको पुनःनिर्माणका लागि सरकारले दिने राहत रकम आउन ढिला भएपछि जिल्लाका भूकम्पपीडितले भत्किएकै घरको मर्मत गरेर बसोबासको व्यवस्था गर्न थालेका छन् ।
टहरा र पालमुनिको बसोबास कठिन भएपछि भूकम्पपीडितले बासको जोहो गर्न थालेका हुन् । बढी क्षति पु¥याएका भक्तपुर नगरपालिका–१ च्यामासिंह, वडा नम्बर २ र ३ जेँला, भेलुखेल, पोटरीस्क्वायर, सुकुलढोका, ब्यासी, कमलविनायकलगायत ठाउँका पीडित भत्किएकै घर मर्मत गरेर बस्न थालेका हुन् ।
भक्तपुर–११ बोलाछेकी रमिला सुवालको पाँच जनाका परिवार भूकम्पले भत्काएकै घरमा बस्न थालेको दुई महिना भयो । “भत्किएको गाह्रो पन्छाएर बस्न थालेका छौँ, भाडा तिरेर बस्नसक्ने अवस्था छैन, विकल्प नभएकाले घर टालटुल गरेर बसेका हौँ” उनले भनिन् । यहाँ अरु पीडित पनि भत्किएकै घर मर्मत गरी बस्दै आएका छन् । भत्किन लागेका घरले थिच्ला भन्ने डर उनीहरुलाई छ ।
तौमढी लेयकु–११ ल्यासिंखेलका भूकम्पपीडितको अवस्था पनि यस्तै छ । पुनःनिर्माण गर्न नसक्ने र त्रिपालमुनि बस्न कठिन भएपछि यहाँका करिब ३० परिवार भत्किएकै घरलाई मर्मत गरेर बस्न थालेका छन् । चर्किएको र टेको लगाएकै जोखिमपूर्ण घरमा उनीहरु वस्न थालेका छन् । “नयाँ घर बनाउने पैसा छैन, सरकारको राहत पाउन सकेको छैनौँ” स्थानीय लक्ष्मीसुन्दर भेलेले भने ।
सरकारले भूकम्पपीडितका लागि बसोबासको वैकल्पिक व्यवस्था नगरेकाले भत्किएको घरलाई टालटुल गरी बस्न बाध्य भएको भेलुखेलका कृष्णहरि खाइतु बताउनुहुन्छ । वर्षा र जाडो पालमुनि नै काटे पनि अब आउने वर्षामा सकस भोग्नु नपरोस् भनेर भत्किएकै घर मर्मत गर्न थालेका छन् ।
भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै होइन मध्यपुरथिमि र अन्य नगरपालिकाका भूकम्पपीडित पनि बासका लागि भत्किएकै घरको मर्मतमा जुट्न थालेका छन् ।








