फागुन ३। चितवन, चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष कार्यालयले संयुक्त रुपमा दुर्लभ गौरीगाईको राष्ट्रिय रुपमा गणना गर्न वन्यजन्तु विभागमा समक्ष प्रस्ताव गरेका छन् ।
विगत नौ वर्षदेखि गौरीगाईको गणना नभएकाले सो प्रस्ताव गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जको आरक्षमा गौरीगाई रहेका छन् ।
निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार सन् २००७ मा चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षमा मात्र गौरीगाईको गणना गरिएको थियो । त्यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा ३१२ र पर्सा वन्यजन्तु आरक्षमा २१ वटा गौरीगाई भेटिएको थिए ।
दुई वर्षअघि उदयपुरको त्रिपुरा वनमा दुर्घटनामा गौरीगाई परेपछि देशका अन्य भागमा समेत गौरीगाई रहेको अनुमान गर्दै देशैभर गणना गर्न विभागमा प्रस्ताव गरिएको उनले जानकारी दिए।
सन् २०११ मा पर्सा वन्यजन्तु आरक्षमा विद्यार्थीहरुले अध्ययनका क्रममा गणना गर्दा ३० वटा गौरीगाई देखेको प्रतिवेदन बुझाएका थिए । चितवन राष्ट्रिय निकुञ्जभित्र गस्तीका क्रममा गौरीगाई जम्काभेट हुने क्रम बढेका कारण कूल सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको निकुञ्जका प्रवक्ता समेत रहेका आचार्यले बताए।
संयुक्त राष्ट्रसङ्घको इन्टरनेसनल युनियन फर नेचर कन्जभेसनले भर्नेवल दुर्लभ जातिको सूचीमा गौरीगाई राखेका छ । गाई प्रजातिको अर्ना झण्डै बीस वर्षअघि लोप भएको छ । यसलाई लोप हुन नदिन संरक्षणमा नयाँ रणनीति तय गर्न पनि गणना आवश्यक रहेको उनले उल्लेख गरे ।
जाती दुईदेखि ५० वटासम्मको समूहमा बस्ने गर्दछ । चितवन राष्ट्रिय निकुञ्जको कसराको पूर्वी क्षेत्रको गौर मचानदेखि सुनाचुरी क्षेत्रका साथै टाइगरटप्स र टेम्पलटाइगर क्षेत्रमा बढी मात्रामा देखिने गर्दछ । चोरी सिकारीको समस्या त्यति धेरै नदेखिने भए पनि बाघले यसको बच्चा खाइ दिने समस्याका कारण सङ्ख्या वृद्धिमा प्रभाव पर्दैआएको छ ।








