काठमाडौँ, नेपाली कांग्रेसको १३औँ महाधिवेशनको उद्घाटन समारोह स्थानीय खुलामञ्च र बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ ।
दलका पदाधिकारी, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य र महाधिवेशन तयारीका लागि गठन गरिएका १३ विभिन्न समितिका संयोजकको आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।
“यसअघि महाधिवेशनको उद्घाटन समारोह दशरथ रङ्गशालामा गर्ने भनिए पनि खुलामञ्चमा गर्न उचित हुने सुझाव आएपछि आज निरीक्षण गरिएको छ, खुलामञ्च नै उद्घाटनका लागि उपयुक्त छ भन्ने निष्कर्षमा पदाधिकारी पुगेका छन्”–निरीक्षणपछि सञ्चारमाध्यमसँग कुरा गर्दै केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने।
सभापति सुशील कोइरालाको गत माघ २६ गते निधन भएपछि माघ मसान्तसम्म जिल्ला अधिवेशनलगायत महाधिवेशन तयारीका काम स्थगन गरिएको थियो । कांग्रेस महाधिवेशनको तयारीका विषयमा सभापति कोइरालाको निधनपछि आइतबार पहिलो पटक औपचारिक बैठक बसेको थियो ।
बैठकमा महाधिवेशनको व्यवस्थापन, निर्वाचन, स्वयम्सेवकलगायत विषयमा छलफल भएको र महाधिवेशन उद्घाटनको एक साता अगावै सबै तयारी सम्पन्न गर्ने गरी काम गरिने निर्णय समेत भएको केन्द्रीय सदस्य जोशीले जानकारी दिए । सभापति कोइरालाको आकस्मिक निधनले केही दिन महाधिवेशन तयारीका काममा बाधा पुगे पनि यही फागुन २० गते उद्घाटन गर्न भ्याउने गरी काम अघि बढेको कांग्रेसले जनाएको छ ।
बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन सबैको सहमतिमा सम्पन्न हुने विश्वास व्यक्त गरे । आजको बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमका विषयमा पनि सामान्य छलफल भएको छ ।
कावा सभापति रामचन्द्र पौडेलको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौलालगायत नेता, उपलब्ध केन्द्रीय सदस्य एवम् तयारी गर्न गठन गरिएका १३ समितिका संयोजकको सहभागिता थियो ।








