माघ १५ । बाजुरा, सदूरपश्चिमका बाजुरा, बैतडी, दार्चुला, बझाङ र डोटी जिल्लाका जिल्ला प्रहरी कार्यालयका भवन पुराना र जीर्ण हुँदा प्रहरी नै असुरक्षित रहेका छन् ।
भवन पुरानो र जीर्ण भएकाले सुदूरपश्चिमका केही पहाडी जिल्लाका जिल्ला प्रहरी कार्यालयका भवनमा बस्ने प्रहरी नै असुरक्षित रहेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख नायब महानिरीक्षक माधवप्रसाद नेपालले बताए ।
भवन जीर्ण हुँदा प्रहरी नै असुरक्षित छन्, जनतालाई कसरी सेवा दिन सक्छन् भन्ने जनतामा सूचना जान्छ, अर्कोतिर भूकम्प आएका बेला अरुलाई सुरक्षा गर्नुपर्ने ठाउँमा उनीहरु आफैँ असुरक्षित रहेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामप्रसाद पौडेलले महिला थुनुवा कोठासमेत नहुँदा महिला थुनुवा आएमा महिला प्रहरीसँग राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो । पानी पर्दा सिधैभित्र आउने, कार्यालय व्यवस्थापन र सञ्चालन गर्नमा निकै समस्या रहेको पौडेलको भनाइ छ ।
प्रहरी नायब उपरीक्षक मोहन पोखरेलले जिप्रका बैतडीको भवन पनि निकै जीर्ण रहेको, सामान्य पानी पर्दा पनि सिधै पानी भित्र आउने गरेको छ, प्रत्येक वर्ष प्लास्टिकले छोपेर चलाएको बताए ।
बाजुरा, बैतडी, दार्चुला, बझाङ, डोटीका जिल्ला प्रहरी कार्यालयका पुराना भवन निर्माणका लागि पटकपटक पहल भए पनि अहिलेसम्म निर्माण नभएको राजनीतिक अगुवाहरुले बताएका छन् ।
प्रत्येक वर्ष अर्थमन्त्रालयबाट १० प्रतिशतमात्र बजेट बढाएर दिन्छ, यसरी बजेट निकासाले प्रहरी कार्यालय अहिलेका संरचना निर्माण गर्न ११० वर्ष लाग्ने प्रनाम नेपालले बताए ।







