न्युड आर्टमा किन रमाउँछन् कवि–कलाकार ?

काठमाडौं,  झट्ट नाम सुन्दा नेपाली पप गीत सुन्नेहरूलाई लाग्छ– उनको नयाँ गीत बजारमा आएको हुन सक्छ । तर होइन । बाबुले जसरी गीतका भिडियो र वास्तविक जीवनमा गितार समाए, त्यही कुरा ‘आर्ट’मा पनि उतारिएका छन् भन्दा खुसी र दुस्ख एकैपटक लाग्छ । सुखका कारण त अथ्र्याउनुनपर्ला, तर दुस्ख हुनुपर्ने एउटै कारण हो, के अब उनी गीत गाउँदैनन् रु तर, वास्तविकता त्यस्तो होइन ।

गायक बाबु बोगटीले गितारमा औँला नचाएर टोलाइरहेका छन् । तर, उनका आँखामा आँसु टल्पलाएका छन् । उनी विछोडिएकी प्रेमिकाको यादमा डुबिरहेछन् । प्रेमिका भने याद बनेर उनकै समीपमा उभिएकी छिन् । उनका काँधमा हात राखेर मुस्कुराइरहेकी छिन् ।
यो दृश्य नेपाल कला परिषद् बबरमहलमा भइरहेको कलाकार नवीन सुवेदीको मूर्तिकला प्रदर्शनीको दृश्य हो । मूर्तिमा ऋचा शर्मा बाबु बोगटीकी प्रेमिका बनेर उभिएकी छिन् । कलाकार सुवेदीले शर्मालाई सेतो रङमा उतारेका छन् । सुवेदी भन्छन्, ‘प्रेमिका बनेर बाबु बोगटीको सम्झनामा आएको देखाउन ऋचा शर्मालाई सेतो रङमा उतारेको हुँ ।’

कला परिषद्मा सुवेदीको एकल मूर्तिकला प्रदर्शनी भइरहेको छ । ९ माघदेखि १८ माघसम्म चल्ने प्रदर्शनीलाई ‘मोहिनी’ नाम दिइएको छ । प्रदर्शनीमा १८ थान मूर्ति राखिएका छन् । धेरै ‘न्युड आर्ट’ छन् । केही थान मूर्ति भने कवि र कलाकारका छन् । उनले गीतकार कृष्णहरि बराल, गायक रामकृष्ण ढकाल, बाबु बोगटी र नायिका ऋचा शर्मालाई मूर्तिमा उतारेका छन् ।
आफ्नो ‘कन्सेप्ट’मा मिल्ने कलाकारलाई मूर्तिका लागि छनोट गरेको उनले बताए । ‘मैले चिनेकामध्येबाट मेरो कन्सेप्टमा मिल्ने र समय दिन सक्नेलाई छनोट गरेर मूर्ति बनाएको हुँ,’ सुवेदीले भने । अनुहारको भाव निकाल्न आफूले प्रत्यक्ष हेर्नुपर्ने भएकाले चारजनालाई नै अगाडि राखेर मूर्ति तयार पारेको उनले बताए ।

कलाकार सुवेदीले चार वर्ष लगाएर यी मूर्ति तयार गरेका हुन् । त्यसका लागि १८ लाख खर्च भएको उनको भनाइ छ । उनले प्रदर्शनीमा राखिएका अधिकांश मूर्ति बिक्रीसमेत गरिने बताएका छन् । तर, मूर्ति किन्नका लागि अहिलेसम्म कसैले प्रस्ताव गरिसकेको छैन । उनी भन्छन्, ‘धेरैले हेरेर जानुभएको छ, मन पनि पराउनुभएको छ, बिक्री हुन्छ भन्नेमा
आशावादी छु ।’

त्यसो त, उनको मूर्ति किन्नलाई निकै धेरै रकम खर्च गर्नुपर्छ । सबैभन्दा महँगो छ, बाबु बोगटी र ऋचा शर्माको युगल मूर्ति । यो मूर्ति बनाउन उनले पाँच लाखभन्दा धेरै खर्च गरेका छन् । सबैभन्दा धेरै समय पनि यही मूर्ति बनाउन लागेको छ । ‘चार महिनाभन्दा बढी लागेको हो,’ सुवेदीले भने ।

उनका ‘न्युड आर्ट’ निकै आकर्षक छन् । अधिकांश न्युड आर्टमा युगल जोडीलाई उतारेका छन् । ‘न्युड आर्ट बनाउनु चुनौतीपूर्ण छ,’ सुवेदी भन्छन्, ‘यस्ता मूर्ति बनाउँदा हाडको साइज, मांसपेशीदेखि छालाको प्रकृतिसम्म अध्ययन गर्नुपर्छ, विदेशमा जस्तो नेपालमा प्रत्यक्ष हेरेर बनाउन पाइँदैन, त्यसकारण पढेको र इन्टरनेटमा फोटो हेरेका आधारमा बनाउनुपर्छ।’
सुवेदीले अधिकांश न्युड आर्टमा ‘एक्रोब्याटिक’ शैलीलाई उतारेका छन् । उनका एक्रोब्याटिक शैलीमा मोसन, डान्सिङ र ब्यालेन्स नाम दिइएका मूर्तिलाई धेरै मन पराइएको छ । युनियन नाम दिइएको मूर्ति पनि उनको मन पराइएको मूर्तिमा पर्छ । त्यस्तै गायक बाबु बोगटी र ऋचा शर्माको जोडी र रामकृष्ण ढकालले गीत गाइरहेको पूर्णकदको मूर्ति पनि मन पराइएका छन् ।
सुवेदीका मूर्ति हेर्न चर्चित व्यक्तित्व र सेलेब्रिटी पनि पुगिसकेका छन् । सुवेदीका मूर्ति हेर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, केन्द्रीय सदस्य झक्कु सुवेदी, हेमराज भण्डारीलगायत पुगिसकेका छन् । भण्डारीको मूर्ति पनि प्रदर्शनीमा राखिएको छ ।

बैंकर अनिल शाह, कृष्णहरि बराल, बाबु बोगटी पनि प्रदर्शनीस्थल पुगिसकेका छन् । कृष्णहरि बरालले आफ्नै मूर्तिसँग तस्बिर खिचेर फेसबुकमा समेत राखेका छन् । गायक रामकृष्ण ढकाल भने प्रदर्शनीस्थल पुगेका छैनन् । उनी अमेरिकामा भएकाले प्रदर्शनी हेर्न नपाएको सुवेदीले बताए । ढकालका पूर्ण र अर्धकदका गरी तीनवटा मूर्ति राखिएका छन् ।

सुवेदीले मूर्तिको बाहिरी भाग बनाउन रेजिन र फाइबर ग्लास प्रयोग गरेका छन् । भित्री भागमा भने फलाम, टिनका पाता र ह्वाइट सिमेन्ट प्रयोग गरेका छन् । यो उनको पहिलो मूर्तिकला प्रदर्शनी हो । सुवेदीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय ललितकला विभागबाट स्नातकोत्तर गरेका छन् । नयाँ पत्रिका।

सम्बन्धित शिर्षकहरु