कांग्रेसका सांसद्हरुको यस्तो आग्रह

BP_smriti_bhawan_Nepali_congressकाठमाडौँ,  मधेसबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका २१ सांसदले पार्टीको आसन्न १३ औँ अधिवेशन गर्ने वातावरण सहज बनाइदिन आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गरेका छन्।

ती सांसदले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी पार्टीको वडा, गाउँ, नगर, क्षेत्रीय, जिल्ला र केन्द्रीय अधिवेशन शान्तिपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न तराई मधेसमा जारी आन्दोलनरतलगायत सबै राजनीतिक दल, नेपाल सरकार, पत्रकार, नागरिक समाज, बुद्धिजीवी, व्यवसायी र पेसाकर्मीसँग आग्रह गरेका हुन्।

विज्ञप्तिमा हालै भएको संविधानको पहिलो संशोधनले तराई मधेसमा जारी आन्दोलनका पक्षका प्रमुख मागलाई सम्बोधन गरेको हुँदा प्राप्त उपलब्धीहरुलाई सकारात्मकरुपमा लिँदै सीमाङ्कन, नागरिकता, राष्ट्रियसभामा प्रतिनिधित्व, भाषालगायतका अन्य विषय वार्ता, छलफल र सार्थक संवादबाट समाधान गर्न सकिने र यसका लागि नेपाली काँग्रेसले अग्रसरता लिने कुरामा आन्दोलनरत पक्षलाई विश्वस्त बन्नसमेत आग्रह गरेको छ ।

कांग्रेसकै अगुवाईमा संशोधन विधेयक पेस भएको र परिमार्जनसहित पारित भएको भन्दै अन्य विषय सार्थक सम्वादबाट समाधान गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन्।

विज्ञप्तिमा केन्द्रीय सदस्य विमलेन्द्र निधि, आनन्दप्रसाद ढुङ्गाना, फर्मुल्हा मन्सुर, डा गणेश मण्डल, सोनादेवी यादवसहित २१ सांसदको हस्ताक्षर रहेको छ ।

सम्बन्धित शिर्षकहरु