काठमाडौं, आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आगामी माघ १८ गतेसम्मका लागि आन्दोलनको थप कार्यक्रम सार्वजनिक गरेको छ ।
राजधानीको बिजुलीबजारस्थित तमलोपा पार्टी कार्यालयमा सोमबार बसेको मोर्चाको बैठकले थप कार्यक्रम गर्ने निर्णय गरेको हो । सीमानाका धर्नाको पूर्ववत कार्यक्रमबारे मौन रहँदै मोर्चाले सोमबार सदरमुकामहरुमा मैनबत्ति प्रज्ज्वलन, क्षेत्रियस्तरमा सभा तथा सदुरमुकामहरुमा राजनीतिककर्मी, बुद्धिजीवि, कर्मचारी, पेशाकर्मी, मजदुर तथा ब्यापारीहरुसँग अन्तरक्रिया लगायत शान्तिपूर्ण कार्यक्रम घोषणा गरेको हो ।
मोरङको रंगेली घटनाको कडा शब्दमा विरोध गर्दै मोर्चाले प्रमुख तीन दल र सरकारसँग जारी वार्ता तथा संवाद भाड्ने उद्धेश्यले रंगेली घटना गराईएको दावी गरेको छ । बैठकपछि मोर्चा आवद्ध चारै दलका दोस्रो तहका नेताद्वारा जारी संयुक्त बिज्ञप्तिमा भनिएको छ–‘रंगेली–डायनियाँ लगायत बिभिन्न ठाउँमा भएका घटनाको निश्पक्ष छानविन र दोषीमाथि कारवाही गर्न यथाशिघ्र उच्चस्तरिय न्यायिक छानविन आयोग गठन गर्न माग गर्दैछौं ।’
संविधान संशोधनको भाषाले मोर्चाको आन्दोलनलाई सम्बोधन गर्न पर्याप्त नभएको भन्दै मोर्चाले यो संशोधन अपुरो र अमान्य भएको निश्कर्ष निकालेको छ ।
साथै जारी मधेस आन्दोलनमा सहभागी हुन तराईका अन्य राजनीति पार्टी र संगठनहरुलाई अपिल गर्ने निर्णय बैठकले गरेको बिज्ञप्तिमा उल्लेख छ ।








