अर्को साताबाट पाइएला त तेल ?

Oil-nigam-coorporationकाठमाडौं, आयल निगमले अर्को साताबाट सहज रूपमा इन्धन पाइने व्यवस्था मिलाउन लागेको छ । उसले सबै निजी पम्पबाट इन्धन वितरण तयारी थालेको हो । आयातमा सुधार र तीन डिपोको इन्धन उपत्यका भित्र्याउन निर्देशन दिएलगत्तै निजी पम्पबाट पनि वितरण गर्ने तयारी गरेको हो । केही दिनअघि निगमले विराटनगर, नेपालगन्ज र भैरहवा डिपोलाई इन्धन उपत्यका पठाउन निर्देशन दिएको थियो । ती डिपोहरूबाट इन्धन भित्रिने क्रम बढेकाले सबै पम्पबाट इन्धन वितरण गर्न सकिने निगमको भनाई छ ।

‘जिल्लाका तीन डिपोबाट इन्धन आउने क्रममा छ,’ निगमका निर्देशक मुुकुन्दप्रसाद घिमिरेले भने, ‘अर्को साताबाट सबै निजीपम्पबाट इन्धन वितरण गर्ने तयारी गर्दै छौं ।’ उनका अनुसार सबै पम्पलाई दैनिक इन्धन वितरण गरिए पनि सवारी साधनमा आफूखुसी इन्धन हाल्न पाइने छैन । सवारी साधनलाई कोटा निर्धारण गरी अथवा जोर बिजोरबाट वितरण गरिने निगमले जनाएको छ । निगमका अनुसार जिल्लाबाट दैनिक ३ सय किलोलिटर पेट्रोल र ४ सय किलोलिटर डिजेल वितरण गरिने छ ।

डिपोहरूबाट दैनिक ३ सय किलोलिटर पेट्रोल र साढे ४ सय किलोलिटर डिजेल उपत्यका भित्र्याउन सकिन्छ । विराटनगर डिपोबाट दैनिक १ सय किलोलिटर पेट्रोल, ३ सय किलोलिटर डिजेल पठाउन निर्देशन दिइएको छ । नेपालगन्जबाट ५०र५० किलोलिटर पेट्रोल र डिजेल पठाउने निर्देशन दिएको छ ।

यस्तै भैरहवा डिपोबाट १ सय ५० किलोलिटर पेट्रोल र एक सय किलोलिटर डिजेल पठाउन भनिएको छ । जिल्लाबाट भित्र्याइने इन्धन पर्याप्त नभए पनि सबै पम्पलाई दिँदा केही सहज हुने निगमको दाबी छ ।

‘जिल्लाबाट आयात हुने इन्धन पर्याप्त नभए पनि कोटा निर्धारण गरेर वितरण गर्दा केही सहज हुने छ,’ घिमिरेले भने, ‘सबै उपभोक्ताले पाउने छन् ।’

आपूर्ति सहज गर्न भारतीय आयल कर्पोरेसन्स (आईओसी) लाई अनुरोध गरिरहेको पनि निगमले जनाएको छ । घिमिरेका अनुसार सोमबार निजी मोटरसाइकललाई वितरण गरिएपछि पुनस् कारहरूलाई तीन दिन दिइने छ । त्यसपछि सबै पम्पबाट इन्धन वितरण गरिने छ ।

पेट्रोलियम बिक्रेताहरूले पनि इन्धन वितरण प्रभावकारी र न्यायोचित बनाउन निजी पम्पबाट पनि इन्धन वितरण गर्न सरकारसँग माग गर्दै आएका छन् ।

आपूर्ति मन्त्रालय र निगमको तोक आदेशको भरमा थानकोट डिपो र उपत्यका बाहिरको जिल्लाबाट वितरण गर्दा कालोबजारी भएको ठहर गर्दै तत्काल सबै पम्पबाट वितरण गर्न माग गर्दै आएका हुन् । व्यवसायीको जायज मागलाई सरकारले सम्बोधन नगरे कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु