माघ ८ । भक्तपुर, राष्ट्रियताका पक्षमा स्पष्ट अडान राख्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस र पहाड छुट्याउन ‘चलखेल’ भइरहेको भन्दै सरकारले त्यसलाई कुनै हालतमा सफल हुन नदिने दृढता दोहोर्याएका छन् ।
नेकपा एमाले काठमाडौँ जिल्ला सङ्गठन कमिटीले आज बोडेमा आयोजना गरेको प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालीको अस्तित्व र एकतालाई तलमाथि पर्न नदिने प्रतिबद्धता व्यक्त गरे।
एमालेका अध्यक्ष समेत रहनुभएका उनले आफूले देशले झुक्ने गरी कुनै कदम नचाल्ने बताउँदै दुनियाँका अरु मुलुक उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र रहेको उल्लेख गरे ।
देशको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र अखण्डताविरुद्व कुनै सम्झौता नगर्ने र अरु कसैलाई गर्न पनि नदिने ओलीले बताए । प्रधानमन्त्री ओलीले जनताद्वारा निर्वाचित दुई तिहाइ संविधानसभा सदस्यले बनाएको र पारित गरेको संविधान परिवर्तन गर्न असम्भव रहेको बताए ।
देशलाई अगाडि बढ्न नदिने र परिवर्तन संस्थागत हुन नदिने प्रयास चौतर्फी रुपमा उठे पनि देश परिवर्तनको गतिमा अघि बढिसकेको बताउँदै उहाँले संविधानको कार्यान्वयन गर्दै सरकार आत्मनिर्भरताको बाटोमा अघि बढ्ने बताए । प्रधानमन्त्री ओलीले देशमा विद्यमान भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री ओलीले आफ्ना अभिव्यक्तिलाई हावादारी भन्ने नै हावादारी भएको उल्लेख गर्दै तीन महिनामा यो सरकारले उल्लेख्य काम गरिसकेको र पुनःनिर्माणको महाअभियानसमेत शुभारम्भ भइसकेको बताए ।
सामाजिक सञ्जालमा सुनियोजित रुपमा आफ्नो विरोध भइरहेकाले त्यसको पछि नलाग्न ओलीले आग्रह गर्नुभयो । यो सरकारलाई देश र जनताको पक्षमा काम गर्न नदिने षड्यन्त्रसमेत भइरहेको उनले बताए ।
सरकारले एक सय दिन पूरा गरिरहँदा उल्लेख्य काम गरेकैले प्रतिपक्षीले यो सरकारले केही गर्छ कि भनेर डराएको बताउँदै उनले सरकारले दुई वर्षमात्रै काम गर्न पाए मुलुकको कायापलट हुने बताए ।
‘काँग्रेसले धोका दियो’
ओलीले आफू सिंहदरबारमा फोटो झुन्ड्याउन प्रधानमन्त्री नभएको उल्लेख गर्दै मुलुकका लागि केही गरेर देखाउने दाबी गरे । उनले काँग्रेसले यो सरकारलाई सहयोग नगरेर धोका र बेइमानी गरेको उल्लेख गर्दै सरकारलाई अप्ठ्यारो पार्न काँग्रेस पनि लागिपरेको बताए।
तराईका केही स्थानमा अराजक समूहले परिस्थिति बिगार्ने कार्य गरिरहेकाले त्यसतर्फ सबै सचेत रहनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले छिमेकीसँग सुमधुर सम्बन्ध कायम राख्र्दै राष्ट्रिय स्वाभिमानलाई बलियो बनाउने उल्लेख गरे। मुलुकलाई विद्युत् भार कटौती मुक्त, तुइन मुक्त, कृषिमा आधुनिकीकरण, शिक्षा र स्वास्थ्यमा राष्ट्र अनुकूलको व्यवस्था आवश्यक भएकाले सरकारको ध्यान त्यसतर्फ केन्द्रित हुने बताए ।
लगानीलाई सहज र फराकिलो बनाएर मुलुकलाई आत्मनिर्भरता, आधुनिकता र विकासतर्फ सरकार अघि बढ्ने उनको दाबी थियो । सबै नगरपालिका तथा गाविसमा हेलिप्याड निर्माण गरिनेसमेत योजना सरकारको रहेको प्रम ओलीको भनाइ थियो ।
जिल्ला सङ्गठन कमिटीका अध्यक्ष कृष्ण राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सानु श्रेष्ठ, कमिटीका सचिव विद्यासुन्दर शाक्यलगायतले मुलुकको आर्थिक समृद्धिमा सबै दल एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । प्रशिक्षण दुई दिन चल्नेछ ।








