राजेन्द्र महतो फेरि बिरामी

rajendarमाघ ७ । गोलबजार, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज फेरि बिरामी परेका छन्। सिरहाको लहानमा पार्टी कार्यकर्तासँग छलफल गरिरहेकै बेला अचानक उच्च रक्तचाप बढेर उनी बिरामी परेका हुन्।

“अचानक उच्च रक्तचाप बढेर बेहोस भएपछि उपचारका लागि लहानस्थित डिभाइन अस्पतालका डा चन्द्रशेखर यादवलाई बोलाएँ”– सद्भावना पार्टीका महासचिव राजुु गुुप्ताले भने “डाक्टरको सल्लाहअनुसार अहिले उहाँ बेडरेस्टमा हुनुहुन्छ ।”

विराटनगरको जोगवनी नाकामा धर्नाका क्रममा झडपमा गम्भीर घाइते भएका महतो दिल्लीमा उपचार गराएर तीन दिन अगाडिमात्रै काठमाडौँ पुुगेका थिए। दिल्लीका चिकित्सकले अध्यक्ष महतोलाई केही दिन आराम गर्न सुुझाव दिए पनि उनी सल्लाह नमानेर काठमाडौँ पुुग्नेबित्तिकै राजनीतिक भेटघाटमा व्यस्त भएका थिए ।

काठमाडौँमा राजनीतिक भेटघाट र पार्टीको बैठकपछि पहिलो मधेस आन्दोलनको पहिलो सहिद रमेश महतोको बलिदानी दिवस मनाउन मङ्गलबार लहान आएर कार्यक्रममा पनि करिब एक घन्टाभन्दा बढी बोले ।

बेडरेस्ट नगरेकै कारण उनी फेरि बिरामी परेको उपचारमा संलग्न डा यादवले बताए । उनका अनुसार टाउको दुख्ने, रक्तचाप उच्च हुने, रिँगटा लाग्ने र आँखा दुख्नेलगायतका समस्याबाट अध्यक्ष महतो ग्रसित भएका छन्।

अचानक बिरामी परेपछि उनी सिरहाको माडरमा बुधबार मधेसी मोर्चाले आयोजना गरेको सभामा समेत जान सकेनन् र लहानकै होटलमा आराम गरिरहेका छन्। बिहीबार राजविराजस्थित मोर्चाको सभामा सहभागी हुने सम्भावना पनि घटेको छ ।

सम्बन्धित शिर्षकहरु