अस्ट्रेलिया, अष्ट्रेलियामा हरेक २ वर्षमा आयोजना गरिने नेपाल फेष्टिवलको व्यापक तयारी सुरु भएको छ । महोत्सव सिड्नीका लागि आगामी नोभेम्बर २६ तारिखको मिति तय गरिएको छ भने अष्ट्रेलियाका अन्य राज्यहरुमा समेत यही सेरोफेरोमा कार्यक्रम आयोजना गर्ने तयारी भएको आयोजकहरूले असनेपालन्यूजलाई जानकारी दिएका छन् ।
गैरआवासीय नेपाली संघ एनआरएन न्यूसाउथवेल्सका सचिव भुपाल सिटौलाका अनुसार यस पटक नेपाल महोत्सवलाई अहिलेसम्मकै सबैभन्दा सहभागितामूलक बनाइने छ । यसैक्रममा नेपथ्यलाई अनुबन्ध गर्ने काम सम्पन्न भएको र करिब एक महिना नेपथ्यले सिड्नी, मेलबर्न र ब्रिसबेनको नेपाल महोत्सवमा आफ्नो प्रस्तुति दिने उनको भनाई छ ।
एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलले नेपालको पर्यटन प्रबद्र्धन, संस्कृतिको जगेर्ना र नेपालीबीचको एकतालाई मुख्य केन्द्रमा राखेर नेपाल महोत्सव गरिने बताए । एनआरएन अध्यक्ष एवं नेपाल महोत्सव तयारी समिति अष्ट्रेलियाका संयोजक सुरेन्द्र सिग्देलले नेपथ्यलाई ल्याउने तय भएको उल्लेख गरे । साथै उनले सिड्नी, मेलबर्न र ब्रिसबेनमा २०१६ को नोभेम्बर डिसेम्बरमा नेपाल महोत्सव गर्ने तय भएको बताए । यद्यपी ठाएँ तय हुन बाँकी छ ।
यस्तै एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले डिसेम्बर महिनामा नेपाल महोत्सव गर्ने तय भएको बताए । फेडरेशन स्क्वायरमा नै गर्ने हो, सम्भवतः डिसेम्बरको पहिलो या दोश्रो साता कार्यक्रमको मिति तय हुनेछ, कँडेल अगाडि थपे । नेपाल महोत्सवको सुरुवात ब्रिसबेनबाट हुने बताइएको छ । एनआरएन क्वीन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेतका अनुसार नेपाल महोत्सवको लागि स्थानको खोजी गर्ने कार्य अघि बढेको छ । केही दिनमा नै मिति र स्थान तय भएपछि यसका अन्य तयारी पनि अघि बढ्ने उनको दाबी छ ।








