संसद् बैठक किन सर्यो ?

samsad_nepalकाठमाडौँ, व्यवस्थापिका–संसद्मा आजदेखि प्रारम्भ गर्ने भनिएको नेपालको संविधान पहिलो संशोधन विधेयक, २०७२ माथिको दफावार छलफल दुई दिनपछि सरेको छ ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद्मा प्रमुख तीन राजनीतिक दलका शीर्षनेता तथा संसदीय दलका नेताबीच भएको छलफलमा यही माघ ७ गतेदेखि सो विधेयक माथिको छलफल अघि बढाउने निर्णय भएको छ ।

छलफलपछि पत्रकारलाई जानकारी दिँदै कार्यदलका सदस्य तथा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावलले सदनमा प्रस्तुत संविधान संशोधन प्रस्ताव तथा आन्दोलनरत मधेसवादी दलका प्रस्तावलाई अघि बढाउन सकिने सम्भावित विषयमा छलफल भएको बताए।

उनले उक्त विधेयकका विषयमा परेका संशोधन प्रस्तावका बारेमा यही माघ ७ गतेदेखि छलफल प्रारम्भ गर्ने र यसका लागि माघ ९ गते आआफ्ना दलका सबै सदस्यलाई जानकारी गराएर त्यस विषयमा निर्णय गर्ने सहमति भएको बताए ।

आन्दोलनरत दलसँग हालसम्म भएका प्रगतिका विषयमा शीर्ष तहमा रहेका नेतालाई जानकारी गराउने र समस्या समाधानका लागि कार्यदल होस् वा शीर्षनेता जुनसुकै तहमा पनि छलफललाई निरन्तरता दिने र माघ ९ गतेसम्म कुनै सहमति नभए संसद्मा प्रस्तुत संविधानको संशोधन विधेयकलाई अघि बढाउनुपर्नेमा सहमति भएको रक्षामन्त्री रावलले जोड दिए ।

सीमाङ्कनका विषयमा उहाँले यो अत्यन्त जटिल विषय भएकाले यस विषयमा तत्काल निर्णय गर्न नसकिने तर गठन हुने उच्चस्तरीय राजनीतिक संयन्त्रले पेस गरेको प्रतिवेदनबमोजिम हुने उल्लेख गरे ।

निर्धारित समयभन्दा करिब तीन घन्टा ढिलो सुरु भएको सदनको बैठकमा सभामुख ओनसरी घर्तीमगरले सो विधेयकमाथिको दफावार छलफल कार्यसूचीबाट हटाइएको जानकारी दिएकी थिइन्।

सम्बन्धित शिर्षकहरु