माघ ५ । दमौली, दोस्रो दमौली महोत्सवको तीन लाख १८ हजार दर्शकले अवलोकन गरेका छन् ।
सोमबार सम्पन्न महोत्सवमा रु छ करोड ३२ लाख बराबरको आर्थिक कारोबार भएको महोत्सवका प्रवक्ता तुलसीराम पाण्डेले बताए ।
आयोजकले तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने र पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य राखे पनि दर्शक भीडका कारण सोचेभन्दा बढी सफल भएको महोत्सव संयोजक कृष्ण आचार्यले बताए ।
महोत्सवको समापन गर्दै सांसद शङ्कर भण्डारीले पर्यटकीय प्रवद्र्धनमा यसले टेवा पु¥याउने धारणा राखे। आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विकासमा यसले सहयोग पु¥याउनेछ– उनले भने ।
समापन कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णराज पण्डितलगायतले महोत्सवले परम्परागत संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने बताउनु भयो । महोत्सवमा विभिन्न क्षेत्रका २०० भन्दा बढी कक्ष राखिएको थियो । महोत्सवमा मादि नदीमा जलविहार, सुन्तलाको प्रदर्शनी, धरहराको डमी, डाइनोसरकोे नमुना, केरा र च्याउको मःम, आदिवासी जनजातिको घर, अस्ट्रिज, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारको दोहोरीले दर्शकको आकर्षण बढाएको थियो ।








